बराहक्षेत्रमा बेसारजन्य वस्तुको प्रशोधन उद्योग चल्ने

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित जब्दीमा ठूलो लगानीमा बेसारजन्य वस्तुको प्रशोधन उद्योग सञ्चालन गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वअध्यक्षसमेत रहनुभएका पत्रकार केशव घिमिरेले २५ कट्ठा जग्गा खरीद गरेर टर्मो एग्री हर्वो प्रोडक्ट एन्ड प्रोसेसिङ उद्योग शुरु गरेका हुन् ।

नगर प्रमुख निलम खनालले बिहीबारउद्योगको शिलान्यास गरेका हुन् । सत्तरी प्रतिशत वित्तीय सहयोग र ३० प्रतिशत आफ्नो लगानीमा शुरु गर्न लागिएको उद्योगबाट यही साउनदेखि उत्पादन शुरु गरिने सञ्चालक घिमिरेले जानकारी दिए ।

पत्रकार पनि व्यवसाय क्षेत्रमा अब्बल बन्नुपर्छ र मिडिया धरासायी भएका बेला आफ्नै उद्योगको आम्दानीले पनि धान्न सकिन्छ भन्ने विश्वव्यापी मान्यतानुसार आफूले ठूलो लगानीमा उद्योग खोलेको घिमिरेले जानकारी दिए । उनी ‘फाष्ट टाइम्स’ दैनिकको सम्पादक पनि हुन् । कोरोना महामारीपछि पत्रिका बन्द रहेको छ ।

उनका अनुसार बेसारजन्य सामग्रीबाट यस उद्योगमा १५ प्रकारका वस्तु उत्पादन गरिने छ । बेसारको जुस, पाउडर, चिया, हर्बल, साबुन, फेसवास, इनर्जी भिट्टालगायतका वस्तु उत्पादन हुने छन् । अदुवाको क्याण्डीसमेत बनाउने योजना रहेको छ । यही वरिपरि उत्पादन हुने कच्चा पदार्थ सहीरुपमा सदुपयोग गर्न यस्तो उद्योग खोलेको उनले बताए ।

You might also like

Comments are closed.