पछिल्लो समय विकसित विभिन्न राजनीतिक तथा सामाजिक उतारचढाव (जेन जी आन्दोलन) पछि निजी क्षेत्रको मनोबल केही खस्किएको महसुस भएको छ । देशको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यवसायीहरूमा पुनः उत्साह भर्नु हाम्रो प्राथमिक उद्देश्य हो । काठमाडौँ उपत्यकाको आर्थिक, सांस्कृतिक र पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सुदृढ बनाउँदै साना उद्यमी, स्टार्टअप र हस्तकला क्षेत्रलाई सिधा बजारसँग जोड्न हामीले यो पहल गरेका हौं ।

महोत्सवमा करिब २०० वटा अत्याधुनिक व्यावसायिक स्टलहरू रहनेछन् । यहाँ स्वदेशी औद्योगिक उत्पादन, हस्तकला, कृषि सामग्रीदेखि रैथाने खानाको प्रतियोगिता र फुड–फेस्टसम्मको स्वाद लिन पाइनेछ । व्यापार मात्र नभई मनोरञ्जनका लागि सांस्कृतिक झाँकी, चर्चित कलाकारहरूको कन्सर्ट, निःशुल्क स्वास्थ्य शिविर र बालबालिकाका लागि किड–जोनसमेत आकर्षणका रूपमा रहेका छन् ।चार दिने यस महोत्सवमा हामीले १ लाखभन्दा बढी अवलोकनकर्ताको अपेक्षा गरेका छौं । यसले नयाँ उद्यमीहरूलाई नेटवर्किङको अवसर दिनेछ र लगानीका नयाँ ढोकाहरू खोल्नेछ । काठमाडौं महानगरपालिकासहित अन्य स्थानीय तहहरु र नेपाल उद्योग वाणिज्य महासंघ, व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र जस्ता संस्थाहरूको सहयोगले यसलाई एउटा बलियो आर्थिक प्लेटफर्म बनाएको छ । बजारको सुस्तता चिर्न यसले पक्कै पनि ऊर्जा थप्नेछ ।
यो महोत्सव नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँले पहिलो पटक आयोजना गरेको बृहत् व्यापारिक मेला हो । माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने महोत्सवमा आएर स्वदेशी उत्पादनको प्रवद्र्धन गरिदिनुहुन म सम्पूर्ण काठमाडौंबासी र सरोकारवालाहरूलाई हार्दिक अनुरोध गर्दछु । तपाईँको एउटा भ्रमणले हाम्रा उद्यमीहरूको मनोबल उच्च बनाउन ठूलो मद्दत पुग्नेछ ।




Comments are closed.