अमेरिकामा रोजगारी घटेसँगै बेरोजगारी दर ४.४ प्रतिशतमा पुग्यो

वासिङ्टन । अमेरिकामा फेब्रुअरी महिनामा करिब ९२ हजार रोजगारी घटेको सरकारी तथ्याङ्कले देखाएको छ । अमेरिकी श्रम तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार अघिल्लो महिनाको तुलनामा गैर–कृषि क्षेत्रमा रोजगारी उल्लेखनीय रूपमा घटेको हो ।

प्रतिवेदन अनुसार पछिल्ला पाँच महिनामध्ये तीन महिनामा रोजगारी घटेको देखिएको छ, जसले श्रम बजारमा कमजोरी बढिरहेको सङ्केत गरेको छ। रोजगारी घटेसँगै बेरोजगारी दर पनि बढेर ४.४ प्रतिशत पुगेको छ।

सबैभन्दा बढी असर स्वास्थ्य सेवा क्षेत्रमा परेको छ। एक ठूलो स्वास्थ्य बीमा कम्पनीमा भएको हड्तालका कारण यस क्षेत्रमा करिब २८ हजार रोजगारी घटेको बताइएको छ। त्यस्तै, रेस्टुरेन्ट क्षेत्रमा ३० हजार र निर्माण क्षेत्रमा ११ हजार रोजगारी कम भएको छ। निर्माण क्षेत्रमा भएको गिरावटको कारण कडा चिसो मौसम र केही क्षेत्रमा परेको भारी हिमपात मानिएको छ।

सूचना सेवा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी खर्च कटौतीका कारण ११ हजार रोजगारी घटेको छ भने उत्पादन क्षेत्रमा पनि करिब १२ हजार रोजगारी कम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यद्यपि रोजगारी घटे पनि मजदुरी दर भने बढेको छ। औसत प्रतिघण्टा तलब मासिक रूपमा ०.४ प्रतिशत र वार्षिक रूपमा ३.८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।

अर्थशास्त्रीहरूले बताएका छन् कि हालको तथ्यांकले श्रम बजार अपेक्षाभन्दा कमजोर देखाएको संकेत गरेको छ। तथापि तत्काल ठूलो आर्थिक मन्दी आउने स्पष्ट संकेत भने देखिएको छैन।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदरसम्बन्धी आगामी निर्णय लिनुअघि अर्थतन्त्रको अवस्थालाई नजिकबाट अध्ययन गरिरहेको छ। साथै इरानसँग सम्भावित द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य बढेमा त्यसले अमेरिकी अर्थतन्त्रमा थप दबाब पर्न सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन्।

– सिन्ह्वा

You might also like

Comments are closed.

Secret Link