पछिल्लो समय युवाहरु विदेशिने क्रम बढ्दो छ । राम्रो सम्भावना बोकेका युवाहरुको विदेशिने क्रम बढेसँगै देशमा युवा संख्या दिनप्रतिदिन घट्दो छ । समग्र राज्यको आर्थिक गतिविधिमा युवाहरुको योगदान महत्वपूर्ण मानिन्छ । तर युवाहरु विदेशिने र उतै पलायन हुने क्रमले नेपालको भविष्य कस्तो रहन्छ भन्ने चिन्ता लिनुपर्ने देख्न्छि ।
पछिल्लो समय स्टार्टअप बिजनेसमा थोरै मात्रै युवाहरुको आबद्धता देखिन्छ । अर्थात राज्यले उद्यममा युवालाई आकर्षण गर्न सकेको छ्रैन । लगानीका लागि झण्झटिलो प्रक्रिया, लगानीको सुरक्षा चुनौति र राजनीतिक अस्थिरता, आर्थिक मन्दी लगायत विविध कारणले युवाहरु स्वदेशमै लगानी गर्न भन्दा विदेशिन बाध्य भएका छन् । युवा विदेशिने क्रमलाई रोक्न र देशमा उद्यमशीलताको प्रवद्र्धन गर्न अब हामीले पहन गर्न जरुरी छ । सरकारले विशेष नीति लिएर युवा उद्यमशीलताका कार्यक्रमलाई प्राथमिकता दिनुपर्छ । नेपालमा लगानीका लागि राम्रो सम्भावना छ । लगानीका लागि सम्भावित क्षेत्रको पहिचान गर्न सकिन्छ ।
लेखनाथ क्षेत्रमा समेत स्टार्टअप बिजेनस उद्यममा लगानीका लागि राम्रो सम्भावना छ । यहाँको प्राकृतिक सुन्दरताले पर्यटनमा अथाह सम्भावना बोकेको छ । पर्यटनसँगै ऊर्जा, कृषि तथा कृषिमा आधारित उद्योग तथा व्यवसाय, माछापालन, फलफुल खेतीमा पनि राम्रो सम्भावना छ । हस्तकला, स्थानीय उत्पादन, सूचना प्रविधि, डिजिटल व्यवसाय, ई–कमर्स, शिक्षा, स्वास्थ्य लगायत अन्य व्यवसायमा लगानीका लागि लेखनाथ क्षेत्रमा युवालाई आकर्षण गर्न सकिन्छ ।
स्थानीय सरकार लगायत प्रदेश र केन्द्र सरकारले पनि अब युवालाई उद्यममा आकर्षण गर्नुपर्छ । लगानीका सम्भावनाहरुको पहिचान गरी लगानीमा आकर्षित गर्न प्रोत्साहन गर्नुपर्दछ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघ लगायत अन्य सरोकारवालाहरुले युवा उद्यममा प्रोत्साहनको नीति लिनुपर्छ ।
युवा उद्यमीलाई अनुदानको व्यवस्था गर्ने, आवश्यक प्रावधिक ज्ञान, सिप तथा तालिममा सहयोग गर्ने, उत्पादिन सामग्रीको बजारीकरण गर्ने, करमा छुट दिने लगायत नीति लिएर राज्यले सहकार्य गर्नसके युवालाई उद्यममा आकर्षण गर्न सकिन्छ । उद्यममा युवालाई आकर्षित गर्न सकेमा भोलिको निजी क्षेत्र बलियो बन्न सक्छ ।
Comments are closed.