सिन्धुपाल्चोक । विगत एक महिनादेखि बन्द अवस्थामा रहेको ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना पुनः सञ्चालनमा ल्याउने सहमति भएको छ ।
१० प्रतिशत शेयर निःशुल्क दिनुपर्ने माग गर्दै केही जेनजी युवाहरूले आयोजना अवरुद्ध गराएका थिए । सो समस्या समाधानका लागि आइतबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, आयोजना पक्ष र जेनजी प्रतिनिधिहरूबीच बैठक बसेको थियो । उक्त बैठकले आजदेखि आयोजना पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
सहमति अनुसार, भोटेकोशी जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड (प्रथम पक्ष) र भोटेकोशी पावर कम्पनी लिमिटेड (द्वितीय पक्ष) बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
सम्झौताअनुसार, द्वितीय पक्षले आयोजना अवस्थित जलविद्युत् उत्पादन क्षेत्रका स्थानीय तहका प्रत्यक्ष प्रभावित जनतालाई समेटी खडा गरिएको पब्लिक लिमिटेड कम्पनीलाई १० प्रतिशत शेयर दिने सहमति गरेको छ ।
त्यस्तै, शेयर अंकित मूल्य रु. १०० प्रति कित्ताका दरले हुने र स्थानीयको तर्फबाट लगानी गर्ने उक्त पब्लिक कम्पनीले कर्जाका लागि बैंकमा निवेदन दिने व्यवस्था मिलाइएको छ । द्वितीय पक्षले जमानीको व्यवस्था गर्नेछ भने उक्त कर्जा आयोजनाको आगामी एक वर्षको लाभांशबाट चुक्ता हुने सहमति गरिएको छ, जसको सर्त आयोजनाको निर्बाध सञ्चालन सुनिश्चित हुने हो ।
यस्तै, जलविद्युत् उत्पादन क्षेत्रका प्रभावित जनतालाई प्रथम पक्षको कम्पनीको शेयरधनी बनाएपछि, द्वितीय पक्षले १० प्रतिशत शेयरका लागि आवेदन दिने प्रक्रिया सुरु गर्ने सहमति पनि भएको छ ।
सहमति कार्यान्वयनसँगै, लामो समयदेखि रोकिएको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु हुने भएको छ, जसले स्थानीय विकास र ऊर्जा आपूर्तिमा नयाँ उर्जा थप्ने अपेक्षा गरिएको छ ।
Comments are closed.