निजी क्षेत्रको हालसम्मकै ठूलो लगानीको माथिल्लो तमोर जलविद्युतका लागि वित्तीय व्यवस्थापन

काठमाडौं । निजी क्षेत्रको हालसम्मकै ठूलो लगानीमा अगाडि बढेको माथिल्लो तमोर जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । ५५ अर्ब लगानीमा निर्माण सुरु भएको आयोजनाका लागि एभरेष्ट बैंकको नेतृत्वमा वित्तीय लगानी हुँदैछ । ताप्लेजुङमा निर्माण हुने २८५ मेगावाट क्षमताको आयोजनामा ५५ अर्ब रुपैयाँ लगानी हुनेछ । उक्त लगानी मध्ये ३० प्रतिशत स्वपुँजी (इक्विटी) र बाँकी ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्नेछन् ।

एभरेष्ट बैंकको नेतृत्वमा कृषि विकास बैंक, एचआइडीसीएल, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैक र गरिमा विकास बैकले ऋण लगानी गर्दैछन् । बिहीबार काठमाडौंमा आयोजीत विशेष कार्यक्रमबीच ऋण लगानीका लागि एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अपर तमोरका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

निजी क्षेत्रको हालसम्मकै ठूलो लगानीमा अगाडि बढेको यो परियोजनालाई महत्वका साथ हेरिएको छ । अपर तमोर हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्प ज्योति ढुङ्गानाले नेपालको निजी क्षेत्रले पनि ठूला ठूला परियोजनामा लगानी गर्न सक्छन् भन्ने उदाहरण अपर तमोरले प्रस्तुत गर्न सफल भएको बताए ।

२०४९ सालको विद्युत ऐन ल्याउने शैलाजा आचार्यलाई सम्झदै २१ वर्ष अघि १ मेगावाटको आयोजना निर्माण गरेर दुई दशकमै २८५ मेगावाटको आयोजना बनाउन सक्ने अवस्थामा पुगेका उनको भनाइ छ । जलविद्युत उत्पादनमा आयोजनाले महत्वपूर्ण योगदान पुर्याउने उनले विश्वास व्यक्त गरे । उक्त अवसरमा बोल्दै एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपालका बैंकहरु ठूला परियोजनामा लगानी गर्न सक्षम छन् भन्ने उदाहरण प्रस्तुत भएको बताए ।

कार्यक्रम सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र रघुबिर महासेठ, प्रतिनिधि सभा सदस्य योगेश भट्टराई, इप्पानका अध्यक्ष गणेश कार्की, परियोजनाका सञ्चालक धनराज आचार्य लगायतले बोलेका थिए ।

आयोजनाको ग्रस हेड ४६४ मिटर र नेट हेड ४३३.४२ मिटर हुनेछ । आयोजनाको औसत ६.२७ रुपैयाँ प्रतियुनिटमा पीपीए भएको छ । आयोजना सम्पन्न भएपछि वार्षिक ९ अर्ब भन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ । २०८५ सम्ममा निर्माण सम्पन्न गरी विद्युत उत्पादन हुने बताइएको छ ।

lcci
You might also like

Comments are closed.