आर्टुडियोको पाटनमा नयाँ विंगसहित प्रदर्शनी सुरु

काठमाडौं ।  समावेशी कला अभ्यास र समुदायकेन्द्रित सृजनात्मकताप्रतिको अभियानलाई सुदृढ बनाउँदै आर्टुडियोले नकबहिल, पाटनस्थित आफ्नो नयाँ पाटन विंगको शुभारम्भ गरेको छ । नयाँ विंगको उद्घाटनसँगै (Un)Seen शीर्षकको पप-अप प्रदर्शनी २१ नोभेम्बर २०२५ देखि सार्वजनिकका लागि खुला भएको छ ।

(Un)Seen मा अटिजम भएका २१ जना युवाद्वारा सिर्जित कलाकृतिहरू प्रस्तुत गरिएका छन् । आर्टुडियोका संस्थापक तथा कलाकार कैलाश के. श्रेष्ठ द्वारा क्युरेट गरिएको यस प्रदर्शनीले न्युरोडाइभर्स प्रतिभाले सिर्जना गर्ने कला, अनुभव र दृष्टिकोणलाई व्यापक समुदायसँग जोड्ने उद्देश्य लिएको छ ।

यस प्रदर्शनीमा रहेका सबै कलाकृतिहरू आकार फाउन्डेशनको सहकार्यमा आर्टुडियो र अटिज्म केयर नेपाल सोसाइटीमा सम्पन्न कार्यशालाहरूको परिणामस्वरूप जन्मिएका हुन्। कलाकारहरूले भरोसा, खोज–अनुसन्धान, धैर्य र सहज प्रयोग–अनुभवका माध्यमबाट सिर्जना गरेका यी कला–रचनाहरूले तिनका व्यक्तिगत संसार, अनुभूति र विषय–दृष्टिकोणलाई रेखा, स्पर्श, रंग, लय र अमूर्त संरचनाहरूमा प्रतिबिम्बित गर्छन् ।

क्युरेटर श्रेष्ठका अनुसार, “(Un)Seen अटिजम–केन्द्रित प्रदर्शनी होइन; यो आफ्नै तरिकाले संसारलाई बुझ्ने कलाकारहरूको प्रस्तुति हो । बाहिरी मान्यताले बाँध्न नसक्ने सम्भावनाको क्षेत्रका रूपमा कला यिनले जस्तै देखाउन सक्छन्,” उनले भने ।

यसअघि आयोजित (Un)Seen को संस्करण सहभागी कलाकारहरूको लागि महत्वपूर्ण उपलब्धि बनेको थियो, जहाँ ९ वटा कलाकृति बिक्री भई उनीहरूले पहिलो पटक आम्दानी आर्जन गरेका थिए । नयाँ संस्करणले सो उपलब्धिलाई थप अगाडि लैजाँदै कलाकारहरूलाई पहिचान, अवसर र सृजनात्मक उन्नतिका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।

आर्टुडियोको पाटन विंगलाई (Un)Seen बाट सुरु गर्नु संस्थाले समावेशी सहकार्य र सामुदायिक सशक्तिकरणमा दिएको निरन्तर जोडको प्रतीक मानिएको छ। यसले प्रायः नसुनिएका आवाज र दृष्टिकोणलाई कला–मञ्चमा ल्याउँदै नेपालमा समकालीन कला र न्युरोडाइभर्स सृजनात्मकताबारे नयाँ संवादको शुरुआत गरेको छ ।

You might also like

Comments are closed.