६ महिनामा ८ खर्ब २५ अर्ब बढी वैदेशिक व्यापार घाटा

काठमाडौं । भन्सार विभागले  सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिकाे माघ मसान्तसम्ममा नेपालले कूल १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ।

त्यस्तै, नौ खर्ब १९ अर्ब १६ करोड ५३ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा ९३ अर्ब ४३ करोड २३ लाख बराबरको मात्रै निर्यात भएको देखिन्छ भने  समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड भन्दा बढी नाघेको  तथ्यांकमा देखाएकाे छ ।

यो अवधिमा नेपालले गरेको कूल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ७७ प्रतिशत र निर्यातको हिस्सा नौ दशमलव २३ प्रतिशत छ। गत माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट दुई खर्ब १२ अर्ब १२ करोड ७४ लाख बराबर भन्सार राजस्व उठेको विभागको तथ्यांकबाट देखिन्छ।

त्यस्तै ,गतवर्षको तुलनामा आयात १९ दशमलव ९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको विभागले जनाएको छ। नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो। माघ मसान्तसम्ममा नेपालले भारतबाट पाँच खर्ब ७० अर्ब ९६ करोड ९७ लाख बराबरको सामान आयात गरेको छ।

यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने ६६ अर्ब २२ करोड ६५ लाख बराबर मात्रै छ। छ महिना अवधिमा चीनबाट एक खर्ब २५ अर्ब पाँच करोड २४ लाख बराबरको आयात गरेको छ भने ४२ करोड २६ लाख बराबरको मात्रै निर्यात गरेको छ।

यो अवधिमा नेपालले वैदेशिक व्यापार गरेको तेस्रो ठूलो मुलुक इन्डोनेसिया हो। इन्डोनेसियाबाट ५७ अर्ब ९ करोड ६९ लाख बराबरको आयात हुँदा १० करोड ३६ लाख बराबर मात्रै निर्यात भएको छ। त्यस्तै, संयुक्त अरब इमिरेट्सबाट २० अर्ब २६ करोड २५ लाख बराबरको सामान आयात हुँदा २५ करोड ८९ लाख बराबरको निर्यात भएको छ।

विभागका अनुसार ६ महिनामा ८४ अर्ब ६१ करोड ६४ लाख बराबरको डिजेल, ३८ अर्ब ७३ करोड ३३ लाख बराबरको पेट्रोल र ३३ अर्ब ३४ करोड बराबरको एलपी ग्यास आयात भएको छ। यही अवधिमा नेपालले २६ अर्ब ४२ करोड ४२ लाख बराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ।

त्यसैगरी, २३ अर्ब ६६ करोड बराबरको फलाम, १८ अर्ब ४५ करोड ३५ लाख बराबरका सुनजन्य वस्तु, १७ अर्ब ७६ करोड बराबरको अप्रशोधित पाम आयल र १४ अर्ब ७६ करोड ८३ लाख बराबरको स्मार्टफोन आयात भएको देखिन्छ।

छ महिना अवधिमा नेपालबाट सबैभन्दा धेरै पाम आयल निर्यात भएको छ। यो अवधिमा १३ अर्ब ९२ करोड ६७ लाख बराबरको पाम तेल निर्यात भएको देखिएको हो। त्यस्तै, सोयाबिन तेल आठ अर्ब २७ करोड ७५ लाख बराबरको निर्यात भएको छ। विभागका अनुसार चार अर्ब ८९ करोड ७३ बराबरको अलैँची र दुई अर्ब ५८ करोड ३४ लाख बराबरको चिया निर्यात भएको छ।

अर्जेन्टिनासँग १८ अर्ब ५६ करोड ६० बराबरको आयात र १० लाख २० हजार बराबर निर्यात कारोबार भएको भन्सार विभागको तथ्यांकबाट देखिन्छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात गरेको छ।

नेपालले यो अवधिमा गरेको कूल वैदेशिक व्यापारमा वीरगञ्जबाट मात्र ३७ दशमलव ३९ प्रतिशत आयात भएको छ भने कूल निर्यातको २४ दशमलव ९२ प्रतिशत हिस्सा रहेको छ। भैरहवा भन्सारबाट एक खर्ब ३० अर्ब ५३ करोड ९३ लाख बराबरको आयात र पाँच अर्ब ४२ करोड ७० लाख बराबर निर्यात भएको छ।

विराटनगर भन्सारबाट एक अर्ब ६ करोड ९० लाख १९ हजार बराबरको आयात हुँदा २५ अर्ब ५३ करोड ८० लाख बराबरको निर्यात भएको विभागको तथ्यांकबाट देखिन्छ।

त्यस्तै,  वीरगञ्ज भन्सारबाट छ महिना अवधिमा तीन अर्ब ४३ करोड ६३ लाख ४३ हजार बराबरको सामान आयात भएको छ भने २३ अर्ब २८ करोड ४० लाख बराबरको निर्यात भएको छ।

 

You might also like

Comments are closed.