निर्वाचन तयारीका लागि भारतबाट थप २ सय २३ गाडी नेपाल आउँदै

काठमाडौं । निर्वाचनलाई लक्षित गर्दै भारत सरकारले उपहार स्वरूप उपलब्ध गराउने थप २ सय २३ थान सवारी साधन नेपाल ल्याउन लागिएको छ। यो भारत सरकारबाट प्राप्त हुने गाडीको तेस्रो खेप हो ।

भारतीय दूतावास स्रोतका अनुसार तेस्रो खेपमा १ सय ५० थान महिन्द्रा स्कोरपियो डबल क्याब पिकअप र ७३ थान महिन्द्रा बोलेरो डबल क्याब पिकअप गाडी नेपाल ल्याइँदै छन् । यसअघि पहिलो खेपअन्तर्गत ६१ वटा गाडी माघ ६ गते नै नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

यस निर्वाचनका लागि भारत सरकारले साना–ठूला गरी कुल ५३८ थान गाडी उपलब्ध गराउने बताइएको छ । निर्वाचन प्रयोजनका लागि गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भारत सरकारसँग सवारी साधन सहयोग माग गरेको थियो ।

प्राप्त सबै गाडी भारतीय दूतावासले गृह मन्त्रालयलाई उपलब्ध गराउनेछ भने गृह मन्त्रालयले आवश्यकताअनुसार विभिन्न जिल्लामा वितरण गर्नेछ । गृह मन्त्रालयका अनुसार निर्वाचन तयारीका क्रममा धेरै जिल्लाबाट सवारी साधनको माग आइरहेको छ ।

गत भदौ २३ र २४ गते जेन–जी पुस्ताका युवाहरूले गरेको प्रदर्शनका क्रममा केही प्रहरी कार्यालयमा आगजनी हुँदा भवन तथा सवारी साधन क्षति भएका थिए । भारतको सहयोगमा प्राप्त गाडीहरू निर्वाचनपछि पनि नेपाल सरकारले आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछ ।

You might also like

Comments are closed.