काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले हालै आफ्ना इन्टरनेट र viaTV सेवामा आएको अवरोधका लागि ग्राहकहरूसमक्ष माफी मागेको छ।
भदौ २४ गते साँझ करिब ४:४५ बजे भएको प्रदर्शनका क्रममा लागेको आगलागीले काठमाडौंस्थित सेन्ट्रल बिजनेस पार्कको चौथो तलामा अवस्थित कम्पनीको प्रमुख डाटा सेन्टरमा क्षति पुर्याएको थियो। त्यसका कारण ब्याकअप डाटा सेन्टरले सम्पूर्ण इन्टरनेट ट्राफिक सम्हाल्न नसकेपछि देशभर सेवा अवरुद्ध भएको भायानेटले जनाएको छ।
आगो नियन्त्रणमा आएपछि भदौ २५ गते दिउँसो करिब १२ बजे मात्र प्राविधिक टोलीलाई सेन्ट्रल बिजनेस पार्कको भवनभित्र प्रवेश अनुमति दिइएको थियो। जोखिमपूर्ण अवस्थामै प्राविधिक टोलीले आवश्यक सर्भरहरू सुरक्षित रूपमा बाहिर ल्याएर अर्को डाटा सेन्टरमा पुनःस्थापना गरेपछि अधिकांश ग्राहकको इन्टरनेट सेवा सुचारु भएको भायानेटले जनाएको छ।
कम्पनीका अनुसार आज साँझसम्म सेवा पूर्ण क्षमतामा सञ्चालन गर्ने लक्ष्य राखिएको छ भने viaTV सेवा पनि चाँडै सुचारु गरिनेछ। भायानेटले यस्तो कठिन परिस्थितिमा धैर्य र विश्वास देखाएका ग्राहकहरूप्रति आभार प्रकट गर्दै नेटवर्कलाई अझ मजबुत बनाउन प्रेरणा मिलेको जनाएको छ।
Comments are closed.