प्रेम रौले/मार्तडी । बाजुरा जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । भाइरल ज्वरोबाट पाँच वर्षमुनिका बालबालिका सबैभन्दा बढी प्रभावित भएको जिल्ला अस्पतालका प्रमुख डा प्रकाशराज जोशीले जानकारी दिए । गत पछिल्ला दुई सातामा ३७ बालबालिकाको उपचार गरिएको र अझै संक्रमणदर नघटेको जनाइएको छ ।
उनले भने “बालबालिकामा देखिएको संक्रमण दर वढ्दो , अस्पतालको क्षमताले भ्याएसम्म उपचार भइरहेको छ ।” अनमी विष्णुकुमारी रावलले जिल्ला अस्पतालमा उपचार हुन नसकेका चार बालबालिकालाई रिफर गरिएको जानकारी दिइन् ।
मौसमी संक्रमणजस्तो देखिए पनि ज्वरो र निमोनियाको संक्रमणका बिरामी वृद्धिहुँदै गएका छन् । अस्पतालमा दैनिक १५ देखि २० बिरामी उपचारमा आउने सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा १० भन्दा बढी बिरामी भर्ना भइ उपचाररत छन् । खप्तड छेडेदह गाउँपालिका पनि भाइरल ज्वरोका बिरामी बढेको आटीचौर स्वास्थ्यचौकीका इन्चार्ज रमेशबहादुर ओलीले जानकारी दिए । यसैगरी पूर्वी उत्तरी भेगको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भाइरलका बिरामीको सङ्ख्या बढेका छन् ।
एक सय देखि १०५ डिग्रीसम्म ज्वरो आएका र निमोनिया, खोकी र पखालाका कारण थला परेका बिरामी दिनप्रतिदिन धान्नै नसकिने गरी आउने गरेको जिल्ला अस्पतालका स्टाफ नर्स निशा रोकायाले बताइन् । उनीहरुलाई अक्सिजनका सहयोगमा उपचार गर्ने गरेको उनले जानकारी दिइन् ।
ज्वरोका बिरामी सरकारी स्वास्थ्य संस्थामा मात्र नभई निजी मेडिकलमा पनि उल्लेख्यनीय मात्रामा उपचारमा आउने गरेका छन् । मार्तडी सञ्चालन भइरहेका निजी क्षेत्रको खप्तड फार्मेसीका अमरराज जोशीले मेडिकलमा दैनिक ४० देखि ५० जना उपचार गर्ने गरेको बताए ।
Comments are closed.