जिल्लामै यातायात साधनको चेकजाँच गर्ने व्यवस्था मिलाउन वाडाको माग

पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रामशरण बस्नेतलाई पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा)का अध्यक्ष मोहनबाबु खड्काको नेतृत्वमा बुधबार ज्ञापन पत्र बुझाइएको छ । अटोमोबाइल्स व्यवसायीहरुले भोग्नु परेका समस्याहरु तथा ट्राफिक व्यवस्थापनको सन्दर्भमा ५ बुदे ज्ञापन पत्र बुझाइएको हो ।

यातायातका साधनको चेकजाँच सम्बन्धित जिल्लामा नै गर्ने व्यवस्था मिलाउन वाडाले प्रदेश सरकारसँग माग गरेको छ । चेकजाँचका लागि यातायात कार्यालयमा ल्याउनुपर्ने व्यवस्थाले बिक्री वितरण पश्चात विभिन्न जिल्ला तथा गाउँगाउँमा पुगिसकेका साधनहरु पोखरासम्म ल्याउनुपर्ने अवस्था छ । यो व्यवस्थाले धेरै व्यवसायी तथा सेवाग्राही मर्कामा परेको वाडाका अध्यक्ष मोहनबाबु खड्काले बताए ।

उक्त अवसरमा नाडाका केन्द्रीय सदस्य तथा वाडाका पूर्व अध्यक्ष ध्रुवबहादुर थापा, वाडाका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, यातायात एवं ट्राफिक व्यवस्थापन उपसमिति संयोजक छवि सुवेदी लगायतको टोलीले ज्ञापन पत्र बुझाएको हो । यातायात क्षेत्रमा देखिएका समस्याको समाधानका लागि आफूले पहल गर्ने मन्त्री बस्नेतले वाडाको टोलीसँग प्रतिबद्धता व्यक्त गरेका छन् ।

ज्ञापनपत्र

You might also like

Comments are closed.