पोखरा । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) ले भोटेकोशी क्षेत्रका बाढीपीडितको राहत तथा पुनस्र्थापनाका लागि १ लाख २५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सो रकम बराबरको चेक कास्कीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कुमानसिंह गुरुङलाई हस्तान्तरण गरेको छ । उक्त सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो ।
चेक हस्तान्तरण गर्दै अध्यक्ष कोइरालाले विपत्तिका बेला नागरिकलाई मद्दत गर्नु निजी क्षेत्रको सामाजिक दायित्व भएको बताए ।
यसअघि भदौ १९ गते बसेको वाडाको बैठकले भोटेकोशी बाढीपीडितका लागि सदस्यहरूबाट स्वेच्छिक सहयोग रकम संकलन गर्ने निर्णय गरेको थियो । संस्थाका कोषाध्यक्ष अशोक चालिसेका अनुसार अटोमोबाइल व्यवसायीहरूले ऐक्यबद्धता जनाउँदै स्वतःस्फूर्त रूपमा रकम संकलन गरेका हुन् ।
सहयोग रकम ग्रहण गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले संकटको घडीमा अटोमोबाइल व्यवसायीहरूले देखाएको मानवीय भावनाको प्रशंसा गर्दै रकम यथाशीघ्र सम्बन्धित कोषमा पठाइने जानकारी दिए ।



Comments are closed.