पोखरा । बिक्रीका लागि शोरुम तथा पसल अगाडि प्रदर्शनीमा राखिएका गाडीको पार्किङ शुल्क नलाग्ने पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रतिबद्धता व्यक्त गरेका छन् । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) पोखराको टोलीद्वारा बुधबार बुझाइएको ज्ञापन पत्र बुझ्ने क्रममा जिसीले यस्तो प्रतिबद्धता गरेका हुन् ।
पोखरामा सडकमा राखिएका गाडी र मोटरसाइकलको पार्किङ शुल्क लिने क्रममा पसल तथा शोरुम अगाडि बिक्रीका लागि राखिएका गाडीको पनि पार्किङ शुल्क उठाउने गरिएको थियो । बिक्रीका लागि प्रदर्शनीमा राखिएका र नम्बर प्लेट नै नआएका गाडीको पार्किङ शुल्क नलिन वाडाले आग्रह गरेको हो ।
वाडाले गरेको आग्रहलाई मेयर जिसीले सकारात्मक रुपमा लिदै अब पार्किङ शुल्क नलिने प्रतिबद्धता गरेको अध्यक्ष मोहनबाबु खड्काले आर्थिक आवाजलाई जानकारी दिए । खड्काको नेतृत्वमा वाडाका पूर्व अध्यक्ष माधव पौडेल र पार्किङ व्यवस्थापन उपसमिति संयोजक छबि सुवेदीले मेयर जिसीलाई ज्ञापन पत्र बुझाएका हुन् ।




Comments are closed.