पोखरा । पोखरामा जारी अटो शोमा गाडी बुकिङमा उत्साह देखिएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)द्वारा पोखराको अमरसिंहचौरमा आयोजित अटो शोको तेस्रो दिनसम्म करिब सय वटा चारपाँग्रे गाडीहरु बुकिङ भएको वाडाका महासचिव तथा प्रचारप्रसार संयोजक विनय थापाले जानकारी दिए । कतिपय डिलरहरुले गाडी डेलिभरीसमेत गरिसकेको र बुकिङ भएका गाडीहरु छिट्टै डेलिभरी हुने कम्पनीहरुले जनाएका छन् ।
अटो शोमा इभी गाडीहरुमा आकर्षण देखिएको छ । यद्यपि आइस गाडीहरुमा पनि दर्शकहरुको चासो उत्तिकै छ । अटो शोको तेस्रो दिन शनिबारसम्म ७ वटा क्रेटा इभी बुकिङ भएका छन् । मेड इन नेपाल भेन्यु पनि बुकिङ भइरहेको हुन्डाइको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ । त्यसैगरी विद्युतीय गाडी ओमोडा तथा जेकोमा पनि दर्शकहरुको आकर्षण देखिएको छ । तीन दिनमा ओमोडा र जेको गरी १० वडा गाडी बुकिङ भएको छ । इलाइट मोटर्स नै पोखरा डिलर रहेको निशानको म्याग्नाइट गाडी १३ वटा बुकिङ भएका छन् ।
अटो शोमा आकर्षक स्टलसहित बिवाइडीले एम६, एट्टो ३ र डल्फिन गाडी प्रदर्शनीमा राखेको छ । बिवाइडीले पनि अटो शोमा ९ वटा गाडी बुकिङ गर्न सफल भएको छ । टाटाले पनि अटो शोमा ३ वटा मोडलका विजुली गाडीहरु प्रदर्शनीमा राखेको छ । कर्भ, टियागो र पञ्च गरी टाटाले अटो शोमा १० वटा गाडी बुकिङ गर्न सफल भएको छ । दुई वटा गाडी डेलिभरीसमेत भइसकेको पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता दिपमोटर्स प्रालिका प्रवन्ध निर्देशक तेजराज बास्तोलाले जानकारी दिए ।
एमजी गाडीमा पनि आकर्षण देखिएको छ । एमजीका गाडीहरु १५ वटा बुकिङ भएको पोखरा डिलर दिपलक्ष्मी ब्राइट इन्टरनेशनलका सञ्चालक नूरज बाटाजूले जानकारी दिए । हालैमात्र नेपालमा सार्वजनिक भएको एमजीको एस५ इभीले ग्राहकलाई आकर्षित गर्न सफल भएको हो । अटो शोमा दिपल गाडी ३ वटा बुकिङ भएको छ । स्काइवेल पनि २ वटा बुकिङ भएको कम्पनीले जनाएको छ । अन्य ब्राण्डहरुले पनि बुकिङ लिइरहेका छन् । कम्पनीले आकर्षक अफरहरु ल्याएकाले पनि ग्राहकहरु गाडी बुकिङका लागि आकर्षित भएका छन् ।
अटो शोमा दुईपाँग्रे सेवारी बुकिङमा पनि आकर्षण देखिएको आयोजकको भनाइ छ । ३ दिनमा करिब सय कै संख्यामा दुईपाँग्रे बाइक तथा स्कुटर बुकिङ भइसकेका छन् । बजाज र ट्राइम्प बाइकका लागि पोखराको बिक्रेता इच्छाशक्ति अटोमोबाइल प्रालिका सञ्चालक आघोषमान बुद्धाचार्यले दुईपाँग्रे सवारीका स्टलहरुका युवाहरुको विशेष आकर्षण देखिएको बताए । ‘बजाज र ट्राइम्म बाइकमा दर्शकको आकर्षण देखिएको छ,’ उनले भने । ३ दिनमा १० ट्राइम्प बाइक बुकिङ भएको र ३ वटा पल्सर बुकिङ भएको बुद्धाचार्यले जानकारी दिए ।
३ दिनसम्म गाडीहरु बुकिङ उत्साहजनक देखिएको वाडाका कोषाध्यक्ष अशोक चालिसेले बताए । ‘हामीले ४ दिनसम्म सय भन्दा बढी चारपाँग्रे गाडी बुकिङ हुने अपेक्षा गरेका थियौं, तीन दिनमा करिब सय गाडी बुकिङ भइसकेको रिपोर्ट प्राप्त भएको छ । अटो शोको अन्तिम दिन आइतबार बुकिङ अझै बढ्ने हामीले विश्वास लिएका छौं ।’
अटो शोमा विद्युतीय चारपाँग्रेतर्फ बिवाइडी, एक्स्पेङ, काई, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटरले स्टल राखेका छन् । आइसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, लगायतका गाडीहरु छन् । हुन्डाईले इभीसँगै आइस गाडीलाई पनि सोकेस गरेको छ । दुईपाँग्रेतर्फ एथर, टिभिएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्ड लगायतका ब्राण्डले दर्शकलाई आकर्षित गरेका छन् । चैत १४ गते सुरु भएको अटो शो १७ गते आइतबार सम्पन्न हुनेछ ।
दिपेन्द्र कोइराला, अध्यक्ष, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन
पोखरामा हामीले पहिलो पटक वाडा अटो शो आयोजना गर्न सफल भएका छौं । चारदिनसम्म चल्ने अटो शोको तेस्रो दिनसम्म गाडी बुकिङ उत्साहजनक रहेको पाइएको छ । सहभागीबाट पनि राम्रो प्रतिक्रिया आएको छ । पहिलो पटक अटो शो आयोजना भएकाले केही कमिकमजोरी पनि हुन सक्छन् । राम्रा पक्षहरुलाई अनुशरण गर्दै कमजोर पक्षलाई सुधार गर्दै आगामी वर्ष अझै भव्य अटो शो पोखरामा सम्भव छ भन्ने हामीले पुष्टि गरेका छौं । अटो शो सफल बनाउन साथ दिने सबैप्रति हामी आभारी छौं ।
निरन केसी, वाडा अटो शो संयोजक
वाडा अटो शो नेपालकै ठूलो इभेन्ट मध्यमा पर्न सफल भएको छ । राजधानी बाहिर पनि अटो शो भव्य रुपमा सम्पन्न हुनसक्छ भन्ने उदाहरण हामीले प्रस्तुत गरेका छौं । आगामी वर्षहरुमा अझै ठूलो अटो शो पोखरामा सम्पन्न गर्न हामीलाई प्रेरणा मिलेको छ ।
विनय थापा, महासचिव, वाडा
पोखरामा आयोजित अटो शोमा गाडी बुकिङमा उत्साह देखिएको छ । तेस्रो दिनसम्म चारपाँग्रे गाडी करिब सय वटा बुकिङ भएको छ । कतिपय डिलरहरुले गाडी डेलिभरीसमेत गरिसकेका छन् ।
अशोक चालिसे, कोषाध्यक्ष, वाडा
३ दिनसम्म गाडीहरु बुकिङ उत्साहजनक देखिएको छ । हामीले ४ दिनसम्म सय भन्दा बढी चारपाँग्रे गाडी बुकिङ हुने अपेक्षा गरेका थियौं, तीन दिनमा नै करिब सय गाडी बुकिङ भइसकेको छ । अटो शोको अन्तिम दिन आइतबार बुकिङ अझै बढ्ने हामीले विश्वास लिएका छौं ।
Comments are closed.