पोखरा । पर्यटकीय राजधानी पोखरामा यही चैत ११ देखि १५ गतेसम्म ‘दोस्रो वाडा अटो शो’ हुँदैछ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजना र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको मुख्य प्रस्तुतिमा अटो शो हुन लागेको हो ।
अटो शो पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिकैको चौरमा आयोजना हुनेछ । अटो शोको व्यवस्थापन गरिरहेको ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालिका प्रबन्धक राहुल शर्माका अनुसार हाल प्रदर्शनी स्थल निर्माण र स्टल बुकिङका कामहरू तीव्र गतिमा भइरहेका छन् । ‘अटो शोको तयारी तिब्र बनाइएको छ,’ उनले भने ।
अटोमोबाइल क्षेत्रमा भित्रिएका आधुनिक प्रविधि र नयाँ मोडलका सवारी साधनहरूलाई नजिकबाट हेर्नका लागि अटो शो महत्वपूर्ण अवसर हुने वाडाका अध्यक्ष दीपेन्द्र कोइरालाले बताए । ‘अटो शोमा सवारी साधन खरिद गर्दा विशेष छुट र आकर्षक उपहारहरूको व्यवस्था हुनेछ,’ उनले भने ।
नेपालमा बिक्री भइरहेका अधिकांश प्रख्यात अटोमोबाइल ब्राण्डहरूको उपस्थिति अटो शोमा रहनेछ ।
‘अटो क्षेत्रको पछिल्लो विकास बुझ्न र एकै थलोमा विभिन्न विकल्पहरू तुलना गरी गाडी खरिद गर्न चाहने ग्राहकका लागि यो शो उत्कृष्ट गन्तव्य बन्नेछ,’ अध्यक्ष कोइरालाले भने ।






Comments are closed.