स्याङ्जा वालिङ नगरपालिकाले दिन थाल्यो श्रम स्वीकृति

स्याङ्जा ।
स्याङ्जाको वालिङ नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन सुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि स्थानीयवासीलाई सहज भएको हो ।

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग वा प्रदेशस्थित श्रम कार्यालय जानुपर्ने बाध्यता रहेकोमा नगरपालिकाबाटै यो सेवा पाइने भएपछि सहज भएको नगरप्रमुख कृष्ण खाणले बताए ।

श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुआत भएसँगै वैशाख १ गतेदेखि यो सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था भएकाले नगरपालिकाले सोमबारदेखि काम सुरु गरेको उनले जानकारी दिए ।

वैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र बीमा रकमबापत तिर्नुपर्ने शुल्क तोकिएको बैंक खातामा दाखिला गरेपछि श्रम स्वीकृतिका लागि प्रक्रिया अगाडि बढ्ने उनको भनाइ थियो । “प्रक्रिया पूरा गरेपछि श्रम स्वीकृति पत्र अनलाइनबाटै प्राप्त हुन्छ” संयोजक बस्यालले भने, “आवेदन स्वीकृत भएको वा आवश्यक विवरण अपुग भएको जानकारी पनि अनलाईनमार्फत नै सम्बन्धित सेवाग्राहीले प्राप्त गर्न सक्ने ब्यवस्था छ ।”श्रम स्वीकृतिसम्बन्धी अन्य जानकारी स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत पनि बुझ्न सकिने नगरपालिकाले जनाएको छ । यसअघि श्रम स्वीकृति लिन काठमाडौँ जानुपर्ने बाध्यता रहे तापनि अहिले आफ्नै पालिकाबाट उक्त सेवा पाइएकाले सहज भएको वडा नं १३ का सुरज श्रेष्ठले बताए ।

वैदेशिक रोजगारीका लागि साउदी अरेविया जान लाग्नुभएका उनले नगरपालिकाबाट पुनःश्रम स्वीकृति लिने उनि पहिलो व्यक्ति थिए।

You might also like

Comments are closed.