काठमाडौं । काठमाडौँ महानगरपालिकाले पिउने प्रशोधित पानीको गुणस्तर जाँचलाई कडाइ गर्दै पछिल्लो एक सातामा मापदण्ड नपुगेका २७१ जार बरामद गरी नष्ट गरेको छ ।
बर्खायाममा पानीजन्य रोगको जोखिम बढेसँगै महानगरले बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु र कोटेश्वर क्षेत्रमा चेकपोस्ट राखी नियमित अनुगमन गर्दै आएको छ । कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार असार र साउन महिनामा मात्र १३९ सवारी साधन चेकजाँच गर्दा ४५६ वटा फोहोर, कुचिएका वा मापदण्ड विपरीतका जार बरामद गरी नष्ट गरिएका छन् ।
अनुगमनका क्रममा,
साउन १८ः कोटेश्वरमा १५ सवारी चेकजाँच, ७७ जार बरामद ।
साउन २०ः बल्खुमा ८ कम्पनीका सवारी जाँच, ५९ जार बरामद ।
साउन २१ः चाबहिल–चुच्चेपाटीमा १९ सवारी अनुगमन, ६७ जार बरामद, ३ नमुना प्रयोगशालामा पठाइयो ।
साउन २३ः माछापोखरी–बालाजुमा २० सवारी अनुगमन, ६८ जार बरामद ।
महानगरले पानी उत्पादक कम्पनीहरूलाई जारमा उत्पादन मिति र स्पष्ट लेबल अनिवार्य राख्न, बिल–बिजक साथमा लिएर हिँड्न र गुणस्तरमा संवेदनशील हुन कडा निर्देशन दिएको छ ।
फुड टेक्नोलोजिस्ट अशोक पराजुलीका अनुसार प्रयोगशालामा पठाइएका नमुनाको परीक्षणले पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गरिनेछ। विगतमा बल्खु, कालीमाटी र टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी देखिएकोले महानगरले आगामी दिनमा समुदायस्तरमा पानी परीक्षण र सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
Comments are closed.