वाटर किङडम पार्क एण्ड रिसोर्टको उद्घाटन पुस २५ गते, साताव्यापी महोत्सव हुने

झापा । झापाको शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा सञ्चालनमा आएको वाटर किङ्डम पार्क एन्ड रिसोर्टको औपचारिक उद्घाटन पुस २५ गते आइतबार हुने भएको छ । रिसोर्टको उद्घाटन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

रिसोर्टको औपचारिक उद्घाटनसँगै एक सातासम्म महोत्सव सञ्चालन हुने रिसोर्टका सञ्चालक राजकुमार संग्रौलाले आर्थिक आवाजलाई जानकारी दिए । पुस २५ देखि माघ १ गतेसम्म चल्ने महोत्सवमा प्रत्येक दिन राष्ट्रियस्तरका चर्चित कलाकारहरुको प्रस्तुति रहनेछ । ‘महोत्सवमा पर्यटकको अत्याधिक भिड लाग्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

शिवसताक्षी धाम, चिल्लागढ, दोमुखाजस्ता प्रख्यात पर्यटकीयस्थल नजिक अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गर्ने गरी पार्क तथा रिसोर्ट सञ्चालनमा आएको हो । नयाँ र सहासिक मानिएको जीप फ्लाइङ र साइक्लिङ लगायतको सुविधा रिसोर्टमा छ । पानीमा खेलेर रमाउन सकिने आठ किसिमका खेल, ४५ मिटर लामो कृत्रिम सुरुङ, समुन्द्री छालको जस्तो वेभ पुल, स्विमिङ पुल, चिल्ड्रेन पुल, सावर डान्स, नाइट क्लब, सोनाबाथ, फिटनेस सेन्टरलगायतका सुविधा छन् ।

वाटरपार्कमा रमाउन भारतको सिलिगुढी जान नपर्ने अवस्था सिर्जना गर्न र नाफासँगै सेवाको भावनाले रिसोर्ट सञ्चालन गरिएको उनको भनाइ छ । रिसोर्टमा मनोरञ्जनका लागि खेलका गतिविधिसँग बस्नका लागि सुविधा सम्पन्न रुमहरुको व्यवस्था छ । खाना तथा खाजाका परिकारका लागि ननभेज र भेजका अलग अलग रेस्टुरेन्ट सञ्चालन गरिएको छ । दुई बिघा पाँच कठ्ठा निजी जग्गामा सञ्चालनमा आएको रिसोर्टमा ५२  करोड रुपैयाँ लगानी भएको बताइएको छ ।

रिसोर्ट गत वर्षबाटै अनौपचारिक रुपमा सञ्चालनमा आएको थियो । रिसोर्टमा सहासिक खेल गतिविधि लगायत पानीका खेलमा रमाउन पर्यटकहरु आकर्षित हुने गरेको अध्यक्ष मेनुकादेवी सिटौलाले जानकारी दिइन् । ‘पर्यटकका लागि स्तरीय प्रदान गर्ने गरी हामीले सेवा सुरु गरेका छौं,’ उनले भनिन्, ‘आगामी दिनमा रिसोर्टमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण अझै बढ्नेमा हामी विश्वस्त छौं ।’

You might also like
Ram Tulasi Palpa

Comments are closed.