काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा आज बिहानदेखि बाक्लो कुहिरो र बादल लाग्दा जनजीवन प्रभावित भएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मौसम धुमिल बनेपछि सडक यातायात, हवाई उडान तथा सर्वसाधारणको दैनिकीमा असर परेको हो ।
काठमाडौंमा बिहानैदेखि दृश्यता अत्यन्तै कम भएको छ। कुहिरोका कारण सडकमा हिँडडुल गर्न कठिनाइ भएसँगै सवारी दुर्घटनाको जोखिम बढेको छ। यसैकारण धेरै सर्वसाधारण बिहानको समयमा घरबाट बाहिर निस्कन हिच्किचाएका छन् ।
हवाई यात्रुहरू सबैभन्दा बढी प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोका कारण अधिकांश उडान ढिलो भएका छन् भने केही उडान रद्दसमेत भएका छन् । आन्तरिक उडानहरू पनि प्रभावित हुँदा यात्रुहरू विमानस्थलमा लामो समय प्रतीक्षा गर्न बाध्य भएका छन् ।
यसैबीच, पहाडी तथा हिमाली जिल्लाहरूमा वर्षा र हिमपातका कारण स्थानीय बासिन्दाको जनजीवन थप कष्टकर बनेको छ। वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातले सडक अवरुद्ध हुनुका साथै दाउरा तथा घाँस काट्न जानेहरू प्रभावित भएका छन् ।
कोशी र मधेश प्रदेशका केही स्थानमा भएको हल्का वर्षाले पनि दैनिक कामकाजमा बाधा पुगेको छ । मौसम पूर्वानुमानअनुसार पश्चिमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने देखिएको छ ।
मौसमविद्हरूले यात्रा गर्ने, हवाई उडानमा निर्भर रहने तथा पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।




Comments are closed.