मोरङ । मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय प्रदेश नं १, विराटनगरमा एक कार्यक्रम आयोजना गरी अपाङ्गता भएका व्यक्तिहरूलाइ ह्विलचेयर वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको जीवनाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सोमबार प्रदेश नं १ का मूख्यमन्त्री हिक्मत कुमार कार्कीले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर वितरण गरेका हुन् ।
प्रदेश सरकार, प्रदेश नं १, करुणा फाउण्डेसन नेपाल, बाल अपाङ्ग टेवा संस्था, ह्विलचेयर फाउण्डेसन तथा राष्ट्रिय अपाङ्ग महासंघले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री कार्कीले हाल करूणा फाउण्डेसन नेपालसंगको सहकार्यमा यस प्रदेशका विभिन्न स्थानीय तहहरूमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा रहेको र यसको प्रभावकारिता, आवश्यक्ता र स्रोत हेरी अन्य सबै स्थानीय तहहरूमा विस्तार गर्ने लक्ष्य रहेको बताएका छन् । अपाङ्गता हुनवाट वचाउनका लागि सचेतनाका कृयाकलापहरू प्रभावकारी ढंगले अगाडी बढाउनु पर्ने समेत उनले वताए।
कार्यक्रलाई संवोधन गर्दै करुणा फाउण्डेसन नेपालका सह निर्देशक योगेन्द्र गिरीले अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन रहेका प्रदेश नं १ का ५८ स्थानीय तहहरूमा हाल २८१२९ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका, उनीहरूको आवश्यक्ता अनुसारका सहायक सामाग्रीहरू कार्यक्रम मार्फत स्थानीय तहहरूले प्रदान गर्दै आएको र अपुग रहेको अवस्थामा करूणा फाउण्डेसन नेपालले विभिन्न संस्थाहरूसंगको सहकार्यमा सहायक सामग्री प्रदान गर्ने गरेको बताए ।
कार्यक्रमलाई संवोधन गर्दै राष्ट्रिय अपाङ्ग महासंघ प्रदेस नं १ का अध्यक्ष नविन चन्द्र ढुङ्गेलले सहायक सामाग्रीको गुणस्तरियतामा जोड दिदै गुणस्तरिय सहायक सामाग्रीको प्रयोगले अपाङ्गता भएका व्यक्तिको जीवनको गुणस्तरमा सुधार ल्याउन अत्यन्तै सहयोगी हुने र यसका लागि स्थानीय तहहरूले आवश्यक व्यवस्था मिलाउनु पर्ने कुरा समेत व्यक्त गरे ।कार्यक्रमका बाल अपाङ्ग टेवा समाजका अध्यक्ष डेण्डी शेर्पाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामाग्रीहरू सहज रूपमा उपलव्ध हुने व्यवस्था मिलाउनु पर्ने कुरामा जोड दिए ।
उक्त कार्यक्रममा मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न १५ स्थानीय तहहरूका २४ पुरूष र ११ जना महिला गरि जम्मा ३५ जना अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर प्रदान गरिएको कुरा करूणा फाउण्डेसन नेपालका बरिष्ठ व्यवस्थापक कमल कोइरालाले वताए । ह्विलचेयर पाउनेहरू मध्ये ६ जना बालबालिका र २९ जना बयस्क अपाङ्गता भएका व्यक्तिहरू रहेका थिए ।
Comments are closed.