काठमाडौं । नेपालमा एमजीको नयाँ विद्युतीय गाडी ‘विन्डसर ईभी’ भित्रिएको छ। एमजीको नेपालका लागि आधिकारिक विक्रेता पारामाउण्ट मोटर्सले दुई भेरियन्टका एक्साइट र एक्सक्लुसिभमा उपलब्ध मोडल केही दिनमै सार्वजनिक गर्ने तयारीमा रहेको छ।
‘जेडएस ईभी’को अपार सफलतापछि एमजीले थप आकर्षक र अत्याधुनिक सुविधा भएको विन्डसर ईभी नेपाली बजारमा ल्याएको हो । यद्यपि, लन्चअघि नै गाडी नेपाल भित्रिसकेको भए पनि मूल्य र सार्वजनिक प्रदर्शनबारे अन्तिम निर्णय हुन बाँकी रहेको कम्पनीले जनाएको छ ।
कम्पनी स्रोतका अनुसार हाल ‘विन्डसर ईभी’को मूल्य निर्धारण प्रक्रिया जारी छ र लन्चसँगै यसको बिक्री सुरु गरिनेछ । यद्यपि, प्रारम्भिक अनुमान अनुसार यो गाडीको मूल्य ४० लाख रुपैयाँ हाराहारीमा पर्नेछ ।
यसै मोडलको भारतीय बजार मूल्य हेर्ने हो भने, एक्साइट भेरियन्टको मूल्य १३,९९,८०० भारतीय रुपैयाँ र एक्सक्लुसिभ भेरियन्टको मूल्य १५,०४,८०० भारतीय रुपैयाँ तोकिएको छ ।
एमजी विन्डसर ईभी एक स्टायलिस र बहुप्रयोगी मल्टि युटिलिटी भेहिकल (एमयूभी) हो, जुन शहरी र ग्रामीण दुबै क्षेत्रका लागि उपयुक्त मानिएको छ । यो मोडल सेडानको लुक्स, प्रिमियम इन्टेरियर र विशेष डिजाइनसहित बजारमा प्रस्तुत हुँदैछ ।
यसमा वायरलेस चार्जिङ, अटोमेटिक एयर कन्डिसन, इलेक्ट्रिक एड्जस्टेबल सिट, पावर टेलगेट, ६ एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र ३६० डिग्री क्यामेराजस्ता अत्याधुनिक फिचर समावेश गरिएका छन् ।
विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ, जसमा १०० किलोवाटको मोटर राखिएको छ । यो मोटरले २०० एनएम पीक टर्क प्रदान गर्दछ। कम्पनी अनुसार गाडीले एकपटक पूरा चार्जमा अधिकतम ३३१ किलोमिटर दूरी तय गर्न सक्छ भने सहरी परीक्षणमा ३२७ किलोमिटरसम्म रेन्ज मापन गरिएको छ ।
गाडीको लम्बाइ ४२९५ एमएम, चौडाइ २१२६ एमएम र उचाइ १६७७ एमएम रहेको छ । ५ जना यात्रु अति सहज रूपमा बस्न मिल्ने यो गाडीको ग्राउण्ड क्लियरेन्स १८६ एमएम र ह्विलबेस २७०० एमएम रहेको छ ।
फ्लस डोर ह्याण्डल, एलईडी लाइट, ठूलो फ्रन्ट ग्रिल र १८ इन्चको अलोय ह्वील यस गाडीको विशेषता हुन् । पछाडि सिट यात्रुहरूका लागि १३५ डिग्रीसम्म झुकाउन मिल्ने सुविधा र पानारोमिक सनरूफले थप लक्जरी अनुभव दिनेछ ।
इन्टेरियरमा ८.८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल र १५.६ इन्चको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ ।
Comments are closed.