काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकहरूको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ । कोषका अनुसार हालसम्म २२ हजार ७६ रोजगारदाता संस्था आबद्ध भएका छन्, जसमा योगदानकर्ता र रोजगारदाताको संख्या दुवैमा उल्लेख्य वृद्धि देखिएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८ लाख ८२ हजार ९४६ नयाँ श्रमिक सूचीकृत भएका थिए । हाल कोषमा औपचारिक क्षेत्रका ६ लाख ४० हजार र अनौपचारिक क्षेत्रका ७९४ श्रमिक सहभागी छन्, भने वैदेशिक रोजगारीमा जाने १९ लाख ३४ हजारभन्दा बढी श्रमिक आबद्ध भएका छन् ।
कोषले अहिलेसम्म ९३ अर्ब रुपैयाँ संकलन गरिसकेको छ, जसको अधिकांश रकम बैंकमा ब्याजका रूपमा राखिएको छ । सामाजिक सुरक्षा ऐनअनुसार यो रकम उत्पादनशील क्षेत्रमा लगाउनुपर्ने व्यवस्था रहेको छ ।
कोषका प्रवक्ता कृष्ण अधिकारीका अनुसार सेवा प्रभावकारी बनाउन १०७ स्वास्थ्य संस्थासँग समन्वय गरिएको छ र स्वचालित सेवा प्रणाली जडान गरिएको छ । उनका अनुसार अब योगदानकर्ताका परिवारले पनि स्वास्थ्य सेवा पाउनेछन् र अस्पतालमा भर्ना भएर गरिने उपचारमा १० लाखसम्मको खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा लागू गरिएको छ ।








Comments are closed.