वर्कसप खोल्न दिने, कर्मचारीलाई बाटोमा रोक्ने ?

काठमाडौं । काठमाडौं उपत्यकामा आज शुक्रबारबाट सवारी साधन मर्मतसम्भार गर्ने वर्कसपहरु खुलेका छन् । राति ९ देखि बिहान ९ बजेसम्म वर्कसप खोल्न सकिने गरी नयाँ व्यवस्था लागु भएको छ । सोही व्यवस्था अनुसार वर्कसपहरु खुलेको नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले जानकारी दिए ।

‘वर्कसप बन्द रहँदा पनि प्रहरीका गाडी, एम्बुलेन्स लगायत अत्यावश्यक सेवाका गाडीहरुलाई वर्कसपहरुले मर्मतसम्भारको सेवा प्रदान गरिरहेका थिए,’ उनले भने, ‘स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अहिले वर्कसपहरुले बिहान ९ बजेसम्म सेवा प्रदान गरिरहेका छन् ।’

सरकारले वर्कसप खोल्न सकिने व्यवस्था गरेपनि वर्कसपसम्म आउने जाने कर्मचारीलाई बाटोमा प्रहरीले रोक्ने काम गरेको अध्यक्ष न्यौपानेले गुनासो गरे । ‘सवारी साधन मर्मत सम्भारका लागि वर्कसप खोल्नुपर्छ पनि भन्ने र कर्मचारीलाई काम गर्न जान आउन नदिने कस्तो व्यवस्था हो ?’ उनले प्रश्न गरे, ‘वर्कसपको परिचयपत्रका आधारमा कामदार तथा अटोमेकानिकहरुलाई आवतजावतमा सहजीकरण गर्नुपर्छ ।’

jutta mela

सार्वजनिक र प्राइभेट सवारी साधन नचल्दासम्म वर्कसप राम्रोसँग नचल्ने बताउँदै अध्यक्ष न्यौपानेले अहिले अत्यावश्यक सेवाका सवारी साधनलाई मात्रै सेवा दिने काम भएको बताए । काठमाडौं उपत्यकामा अहिले करिब एक हजार वटा वर्कसप छन्् । एसोसिएसनमा मात्रै ७ सय वटा वर्कसप आबद्ध छन् । सबै वर्कसपमा गरी ५० हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

दुई पाँग्रे सवारी साधनहरुको मर्मतसम्भार गर्ने वर्कसपहरु पनि नयाँ व्यवस्था अनुसार बिहान ९ बजेसम्म सञ्चालनमा आएको श्री नेपाल अटो मेकानिक्स व्यवसायी संघ ललितपुरका अध्यक्ष राजकुमार विश्वकर्माले बताए ।

You might also like

Comments are closed.