काठमाडौं । चीनको सेन्जेनमा सम्पन्न वर्ल्ड स्कलर्स कप–२०२५ को ग्लोबल राउन्डमा युरो स्कुल छाउनीका विद्यार्थीहरूले ऐतिहासिक सफलता हात पारेका छन् । पहिलो पटक सहभागिता जनाउँदै विद्यालयका १९ जना विद्यार्थीहरूको टोलीले ५१ स्वर्ण र ६१ रजत गरी जम्मा ११२ पदक जित्न सफल भएको हो । यससँगै उनीहरूले अमेरिकास्थित येल विश्वविद्यालयमा हुने प्रतिष्ठित टुर्नामेन्ट अफ च्याम्पियन्स–२०२५ का लागि आफ्नो स्थान सुरक्षित गरेका छन् ।
विद्यालयकी प्रधानाध्यापक रोहिणी प्रधानका अनुसार करिब २० देशका १,४०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको प्रतिस्पर्धा निकै चुनौतीपूर्ण भए पनि युरो स्कुलका विद्यार्थीहरूले असाधारण प्रदर्शन गरेका छन् । यस सफलतामार्फत विद्यालयले मात्र नभई नेपाललाई समेत अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएको उनको भनाइ छ ।
व्यक्तिगततर्फ कक्षा ८ की छात्रा आरुषी श्रेष्ठले लेखन प्रतिस्पर्धामा चौथो स्थान हासिल गर्दै ८ स्वर्ण र ३ रजत पदक जितिन् । उनले चित्रकलामा समेत उत्कृष्टता प्रदर्शन गरिन्। अदिति सुवेदी र लिजा पराजुलीसहितको टोलीले सामूहिक लेखनमा तेस्रो स्थान प्राप्त गर्दै समग्रमा १५औँ स्थान सुरक्षित गर्यो। त्यस्तै, एरोन शर्माले प्रतिष्ठित Asimov Award जित्दै व्यक्तिगततर्फ ११ पदक (४ स्वर्ण, ७ रजत) हासिल गरे ।
जुनियर वर्गतर्फ आरुषी श्रेष्ठले ११, एरोन शर्माले ११, अदिति सुवेदीले ९, लिजा पराजुलीले ७, रितिशा शक्य र राज्वी त्रिपाठीले ६–६, प्रतिष्ठा श्रेष्ठले ६, आश्रेय शाक्य, सम्पदा स्याण्डा, नस्वा महर्जन, टियारा श्रेष्ठ, लरिसा सुवेदी र श्रेयसी सिग्देलले पाँच–पाँच पदक जित्न सफल भए ।
त्यस्तै, सिनियर वर्गतर्फ ष्लेश्ना तुलाधरले ७, लिजला शक्यले ५, अक्ष्यता तुलाधरले ४, मनसा बगालेले ३, इभान सयामीले २ र मानस श्रेष्ठले २ पदक जिते ।
विद्यालयका अनुसार यस्ता अन्तर्राष्ट्रिय अवसरहरूले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आलोचनात्मक सोच र विश्वस्तरीय प्रतिस्पर्धात्मक क्षमताको विकास हुने विश्वास गरिएको छ । अब नोभेम्बर ६ देखि १२ तारिखसम्म अमेरिकाको येल विश्वविद्यालयमा हुने टुर्नामेन्ट अफ च्याम्पियन्स–२०२५ मा विद्यालयका १३ जना विद्यार्थी र अभिभावक सहभागी हुने तयारी भइरहेको छ ।
Comments are closed.