काठमाडौं । अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल स्थापनाको ४६ वर्ष भइसकेको छ । नाडाले हालसम्म ४४औं साधारणसभा सम्पन्न गरिसकेको छ भने ४५औं साधारणसभा यही मंसिर २२ र २३ गते काठमाडौंमा हुँदैछ । नाडाले हालसम्म १९ जना अध्यक्ष पाइसकेको छ । २०औं अध्यक्ष तथा कार्यसमितिका लागि यही साधारणसभामा निर्वाचन हुँदैछ ।
पछिल्लो समयमा देशका हरेक तह तथा संघ–संस्थामा महिलाको सहभागिता अनिवार्य जस्तै छ । संविधानले नै महिला सहभागितालाई अनिवार्य गरेको छ । नाडा यस्तो संस्था हो जहाँ १९ जना अध्यक्षमा महिलाको प्रतिनिधित्वको कुरै छाडौं कार्यसमितिमा पनि महिलाको प्रतिनिधित्व हुन सकेको छैन । कार्यसमितिमा मात्रै होइन निर्वाचनमा महिला उम्मेदवारसमेत नाडामा बनेको इतिहास छैन । यतिबेला भने त्यो इतिहासमा ब्रेक लाग्दैछ । आसन्न नाडा निर्वाचनमा पहिलो पटक महिला सहभागिता हुने भएको छ । त्यो सहास गरेकी छन् महिला अटो व्यवसायी तथा उद्यमी यमुना श्रेष्ठले ।
ऊर्जा क्षेत्रमा लामोे समय काम गर्दै आएकी यमुना बिगत केही वर्षदेखि अटोमोबाइल व्यवसायमा सक्रिय छन् । अटोमोबाइल व्यवसायमा पनि इलेक्ट्रिक गाडी उनको प्राथमिकताको क्षेत्र बनेको छ । साइमेक्स इंक प्रालिमार्फत यमुनाले चिनियाँ प्रशिद्ध ब्राण्ड बिवाइडीलाई नेपाली बजारमा भित्र्याएकी छन् । जुन गाडी छोटो समयमा नेपाली बजारमा लोकप्रिय बनेको छ ।
नाडामा महिलाको सहभागितासँगै इलेक्ट्रिक भेइकललाई प्राथमिकता दिनेगरी काम गर्नुपर्छ भन्ने मान्यतासहित आफूले कार्यसमितिमा उम्मेदवारी घोषणा गरेको श्रेष्ठले आर्थिक आवाजलाई बताइन् । ‘अबको दिनमा इलेक्ट्रिक भेइकललाई प्रमोट गर्नुपर्ने आवश्यकता छ । नाडाको प्राथमिकता पनि यो क्षेत्रमा हुनुपर्छ,’ उनले भनिन् । इलेक्ट्रिक गाडीको सम्भावनाहरुलाई ख्याल गर्दै विस्तृत अध्ययन गर्नुपर्ने बताउँदै उनले आफूले त्यसका लागि पहल गर्ने बताइन् । ‘नाडालाई व्यवस्थित गर्न तथा सबैको सहभागिता सुनिश्चित गर्न पनि मेरो उम्मेदवारी हो,’ उनको भनाइ छ ।
उनको कम्पनीले देशभर चार्जिङ स्टेसन विस्तार गर्नका लागि अध्ययनसमेत गरिरहेको छ । ‘गाडी इम्पोर्ट गरेर मात्रै हुँदैन, त्यसका लागि पूर्वाधारको समेत आवश्यकता छ,’ उनले भनिन्, ‘व्यवसायीले निजी क्षेत्रबाट पूर्वाधारमा लगानी गर्ने कुरा आफ्नो ठाउँमा छ । सरकारले समेत पूर्वाधार विकासमा जोड दिनुपर्छ र लगानीमैत्री वातावरण बनाउनुपर्छ ।’ आवश्यक ठाउँमा सरकारसँग सहकार्य गर्ने र पर्यो भने दबाब पनि दिनसक्नुपर्ने उनी बताउँछिन् । देशभर ३ हजार भन्दा बढी सदस्य आबद्ध भइसक्दा पनि नाडाको कार्यसमिति समावेशी नभएको बताउँदै उनले अबको दिनमा त्यस्तो अवस्था रहन नहुने उनको तर्क छ । उनले नाडाको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार ध्रुवबहादुर थापा प्यानलबाट उम्मेदवारी घोषणा गरेकी छन् ।
Comments are closed.