विद्युतीय सवारीमा १० वर्ष, ‘चुनौतीबीच हिम्मत हारेनौं’ : यमुना श्रेष्ठ

काठमाडौं । नेपालका लागि चिनियाँ विद्युतीय ब्राण्ड बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इन्क प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालमा विद्युतीय सवारीसाधन (इभी) को क्षेत्रमा काम गर्नु चुनौतीपूर्ण रहेको बताएकी छिन् । आफूले यस क्षेत्रमा काम गर्न थालेको १० वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमा पुराना तस्बिरहरू सार्वजनिक गर्दै उनले आफ्ना अनुभव र भोगाइहरू सेयर गरेकी हुन् ।

नेपालमा ईभी भित्र्याउन र यसको बजार विस्तार गर्न दशक लामो यात्रा पार गरिसकेको स्मरण गर्दै श्रेष्ठले नीतिगत अस्थिरता नै मुख्य बाधक रहेको संकेत गरेकी छिन् । विगत १० वर्षको अवधिलाई मूल्याङ्कन गर्दै प्रबन्ध निर्देशक श्रेष्ठले भनिन्, ‘यस अवधिमा धेरै चुनौती, अनिश्चितता र नीतिगत उतारचढावहरू सामना गर्नुप¥यो । कहिल्यै पनि दीर्घकालीन र स्थिर भ्ख् नीतिको साथ काम गर्ने अवसर पूर्ण रूपमा पाउन सकेनौं ।’

नेपालमा सरकार परिवर्तनसँगै परिवर्तन भइरहने करका दर र ईभी नीतिले व्यवसायीहरू सधैँ अनिश्चितताको भुमरीमा पर्ने गरेको गुनासो उनले घुमाउरो पारामा व्यक्त गरेकी छिन् ।

नीतिगत स्पष्टता नहुँदा र अनेकौँ कठिनाइहरू आइपर्दा पनि आफूहरू पछि नहटेको उनले स्पष्ट पारेकी छिन् । ‘तर यी सबै कठिनाइका बीच पनि हामीले हिम्मत हारेनौं । स्वच्छ ऊर्जा, दिगो यातायात र नेपालको उज्ज्वल भविष्यप्रतिको विश्वासका साथ निरन्तर अघि बढिरहेका छौं,’ उनले भनिन् ।

नेपालमा विद्युतीय सवारीको भविष्य राम्रो भएपनि त्यसका लागि राज्यको तर्फबाट स्पष्ट दृष्टिकोण आउनुपर्नेमा श्रेष्ठले जोड दिएकी छिन् । स्पष्ट, स्थिर र दूरदर्शी ईभी नीतिले मात्र नेपाललाई विद्युतीय सवारीसाधनको क्षेत्रमा अझ अगाडि बढाउन सक्ने उनको दृढ विश्वास छ ।

१० वर्षअघिका तस्बिरहरू सार्वजनिक गर्दै उनले व्यक्त गरेका यी भनाइहरूले नेपालको ईभी बजारले भोगेको वास्तविक धरातल र आगामी दिनमा सुधारिनुपर्ने नीतिगत पाटोलाई उजागर गरेको छ ।

You might also like

Comments are closed.