पोखरा । गण्डकी प्रदेश सरकारले कर वृद्धि गरेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समिति आन्दोलित भएको छ । कोरोना संक्रमणको प्रकोपबाट मुक्त हुँदै व्यवसाय विस्तारै लयमा फर्किदै गरेको अवस्थामा प्रदेश सरकारले एकाएक निजी तथा सार्वजनिक सवारी साधानमा अन्यायपूर्ण तवरले कर वृद्धि गरेको भन्दै व्यवसायीहरुले सरकारको उक्त निर्णयप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
साथै आफ्ना मागहरु केही दिन अघि प्रदेश सरकार समक्ष राखेको भएपनि सरकारले आफूहरुको मागको व्यवास्ता गरेको भन्दै बाध्य भएर उही साउन २२ गतेदेखि सार्वजनिक सवारी साधनहरु घर ग्यारेजमा खडा गरेर आन्दोलन गरिने महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।
त्यसपछि पनि सरकारले आफूहरुको मागलाई बेवास्ता गरे अनिश्चित प्रदेश बन्दको घोषणा गर्ने चेतावनी महासंघले दिएको छ ।
महासंघले आन्दोलनमा निजी तथा पर्यटन सवारी साधनहरु पनि घर ग्यारेजमा राखेर करको विरुद्धमा गरिने आफूहरुको आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ । अन्दोलनबाट पर्न जाने असुविधाप्रति क्षमा माग्दै महासंघले निजी, सार्वजनिक, पर्यटन सवारी साधन संचालन गर्ने सम्पूर्णलाई आन्दोलनमा सहभागी हुन महासंघ प्रदेशका अध्यक्ष केदार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघका ट्याक्सी तर्फका वर्गीय संयोजक प्रकाशमणि तिवारीले रातो नम्बर प्लेटका कार तथा मोटरसाइकलहरुले भाडामा यात्रु ओसार्ने काम गरेको बताउँदै त्यसको विरोध गरेका छन् ।
रातो प्लेटका सवारी साधनहरुले भाडामा यात्रु ओसार्ने काम गैरकानुनी कार्य भएको बताउँदै संयोजक तिवारीले उक्त कार्यलाई राज्यबाट नियन्त्रण गरिनुपर्ने बताए । ‘रातो नम्बर प्लेटका गाडीबाट यात्रु ओसार्ने काम पूर्ण गैरकानुनी हो,’ उनले भने, ‘यो कामलाई राज्य निकायबाट नै नियन्त्र गरिनु पर्छ ।’
Comments are closed.