यती एअरलाइन्स प्रायोजित ‘वुमन विथ द विङ्गस’ सम्पन्न

पोखरा । मिस नेपाल २०२५ की प्रतिस्पर्धीहरूमाझ यती एअरलाइन्सद्वारा प्रायोजित विशेष सबटाइटल प्रतियोगिता ‘वुमन विथ द विङ्गस’ पोखरामा भव्य रूपमा सम्पन्न भएको छ । आत्मविश्वास, विचारशीलता, प्रस्तुतिको शैली र प्रेरणादायी व्यक्तित्वका आधारमा मूल्यांकन गरिएको प्रतियोगितामा २६ जना प्रतिस्पर्धीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

‘वुमन विथ द विङ्गस’ उपाधि यती एअरलाइन्सले आत्मविश्वासी, सक्षम र प्रेरणादायी नेपाली महिलाको पहिचान तथा सम्मानका लागि प्रदान गर्दै आएको हो । कम्पनीले यस उपाधिमार्फत महिलाको सशक्तीकरण, नेतृत्व क्षमता र समावेशी भूमिकाको प्रवर्द्धन गर्दै सामाजिक उत्तरदायित्वमा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

प्रतियोगितामा सहभागी युवतीहरूले व्यक्तिगत अनुभव, सामाजिक दृष्टिकोण र भविष्यप्रतिको सोच प्रस्तुत गर्दै आफूलाई सशक्त रूपमा अभिव्यक्त गरे । निर्णायक मण्डलमा यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्ट, द हिडन ट्रेजरका निर्देशक दिवाकर राजकर्निकार, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, श्री नटराज ज्वेलर्सका निर्देशक अनुराज सरोगी र स्किन आर्ट्स एस्थेटिककी निर्देशक स्वपनिल शर्मा सहभागी थिए। निर्णायकहरूले सहभागीहरूलाई विभिन्न सूचकांकको आधारमा मूल्यांकन गर्दै उत्कृष्ट प्रतिस्पर्धीको छनौट गरेका हुन् ।

द हिडन ट्रेजरको आयोजनामा हुने मिस नेपाल प्रतियोगितामा प्रदान गरिने ‘वुमन विथ द विङ्गस’ उपाधि महिलाको नेतृत्व क्षमता, सामाजिक चेतना र समर्पणलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

यस उपाधिको विजेता घोषणा आगामी भदौ १४ गते काठमाडौंमा हुने मिस नेपाल २०२५ को ग्राण्ड फिनालेमा गरिनेछ । विजेताले यती एअरलाइन्सको तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन हुने महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणजस्ता विषयमा केन्द्रित विभिन्न अभियान तथा कार्यक्रममा प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।

यती एअरलाइन्सले ‘वुमन विथ द विङ्गस’ मार्फत महिलाको उडानलाई उचाइमा पु¥याउँदै अरूका लागि प्रेरणा बन्ने अवसर प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.