काठमाडौं । विगत २३ बर्षदेखी नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौं–वनारस–काठमाडौंको बुधबार परिक्षण उडान (प्रुभिङ फ्लाइट) सफलता पूर्वक सम्पन्न गरेको छ ।
दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरुमा चार्टर÷नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरीक उड्डयन प्राधिकरणमा केही महिना अघि यतीले निवेदन दिए सँगै अन्तर्राष्ट्रिय उडानका लागि प्राधिकरणबाट गरीएको चरणबद्ध प्रक्रिया अन्तर्गत यो उडान गरिएको यती एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता श्री सुदर्शन बर्तौलाले जानकारी दिए ।
यस सँगै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट यतीले अन्तराष्ट्रिय उडानको लागि प्राप्त गर्ने अनुमती अन्तिम चरणमा पुगेको छ । आजको उडानको प्रतिवेदन सँगै केही दिन भित्र यती एअरलाइन्सले अन्तराष्ट्रिय उडानको एओसी प्राप्त गर्नेछ । यो परीक्षण उडान एअरलाइन्सका वरिष्ठ चालक रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेल सहितको उडान दलले गरेका थिए । 9N-AMN कल साइन भएको एटिआर–७२ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट विहान १०ः०७ बजे लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय हवाई अड्डा वाराणसी, भारत का लागी उडान भरेर बेलुका ५ः४८ मा पुनः काठमाडौँमा अवतरण गरेको थियो ।
उक्त परिक्षण उडानमा नेपाल नागरीक उड्डयन प्राधिकरण तथा एअरलाईन्सका अफिसियलहरुको सहभागीता रहेको प्रवक्ता बर्तौलाले जानकारी दिए । नयाँ बन्ने क्षेत्रीय विमानस्थललाई नजिकका अन्तराष्ट्रिय गन्तव्यलाई जोड्न र धार्मिक पर्यटनलाई भित्र्याउने उद्देश्यका साथ अन्तराष्ट्रिय उडान भर्न लागेको उनले बताए ।
यती एअरलाइन्सले आगामी दिनमा मध्यम दूरीमा उडान गर्नका लागि मध्यम सिट जहाज भित्र्याउने लक्ष्य समेत राखेको छ । यती एअरलाइन्स र यती गुप्रले ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी र होटलमार्फत स्वदेशी तथा विदेशी पर्यटनलाई सेवा प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रमा योगदान दिंदै आएको र आगामी दिनमा चार्टर उडान मार्फत थप पर्यटक भित्र्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
सन् २०२१ भित्रै दुईवटा एटीआर–७२ वायुयान थप्ने योजना बनाएको यो कम्पनीले अहिले एटिआर–७२ र जेटस्ट्रिम वायुयान मार्फत विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ ।





Comments are closed.