‘सडक र सार्वजनिक यातायात राज्यको प्राथमिकता नपर्दा समस्या भएको छ’

योगेन्द्रबहादुर केसी, अध्यक्ष, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि.

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. अन्तर्गत हाल करिब १३ सय बस सञ्चालनमा छन् । सामान्यदेखि एसियाकै उत्कृष्ट स्तरका बससम्म प्रा.लि.ले देशभरका विभिन्न रुटमा सञ्चालनमा ल्याइसकेको छ । आगामी दिनमा अझै स्तरीय बस सञ्चालन गरिने प्रा.लि.ले जनाएको छ । यसैक्रममा प्रा.लि.का अध्यक्ष योगेन्द्रबहादुर केसीसँग आर्थिक आवाजले गरेको कुराकानीः

हाल कम्पनी अन्तर्गत कति सवारी सञ्चालनमा छन् ?

२०७४ सालमा नेपाल सरकारले संघसंस्था खारेज गर्ने निर्णय ग¥यो । तत्कालीन पृथ्वी राजमार्ग बस संचालक समितिलाई पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.मा रुपान्तरण ग¥यौं । हाल कम्पनीमा आवद्ध भएर विभिन्न प्रकृतिका १ हजार ३ सय सवारी साधन संचालनमा छन् । प्रा.लि. अन्तर्गत अति उत्कृष्टदेखि सामान्य प्रकृतिका सवारी साधन संचालनमा छन् । हामीले संचालनमा ल्याएका कतिपय बसहरु एसियामा नै उत्कृष्ट बन्न सफल छन् । आगामी दिनमा पोखरा जगदम्वा ट्राभल्सले मिनिबार सहितको गाडी संचालन गर्ने तयारीसमेत गरिसकेको छ । अझै स्तरीय गाडी दर्ता गर्ने तयारीमा हामी छौं । नेपालमा ६३ जिल्लासँग हामी सडक सञ्जालमार्फत जोडिएका छौं । यात्रुलाई सहज तथा सरल तरिकाले सेवा प्रवाह गरिरहेका छौं ।

व्यवसायीले भोग्नुपरेका समस्याहरु के-के छन् ?

विभिन्न आरोह अवरोह पार गर्दै हामी अहिलेको अवस्थामा आएका हौं । कोरोना महामारी, बैंक तथा वित्तीय संस्थाको व्याजदर, दुर्घटना, बाढी पहिरो, अव्यवस्थित सडक सञ्जाल लगायतका समस्याले व्यवसायीलाई अप्ठ्यारोमा पारेको छ । सडकको अवस्थाका कारण सवारी साधनको आयु घटिरहेको छ । समस्या नै समस्यामा हामी व्यवसायी छौं । हाम्रा समस्याहरुमा राज्य बेखबर जस्तै छ ।

सार्वजनिक यातायातलाई व्यवस्थित गर्नुपर्ने दायित्व राज्यको पनि हो । राज्यले केही गरेको छैन भन्न खोज्नुभएको हो ?

सवारी ऐन २०४९ को अधिनमा रहेर हामीले काम गरिरहेका छौं । सार्वजनिक सवारी सञ्चालन राज्यले गर्नुपर्ने काम हो । विश्वका अधिकांश देशमा पब्लिक ट्रान्सपोर्टका क्षेत्रमा निजी क्षेत्रबाट लगानी गरेको अवस्था छैन । नेपालमा सरकारले लगानी नगरिकन निजी क्षेत्रले लगानी गरेर पब्लिक ट्रान्सपोर्ट सञ्चालन गरेर राज्यलाई सहयोग पु¥याइरहेको छ । राज्यले लगानी गरेर सञ्चालन गरेको भनेको साझा यातायात हो तर आम नागरिकले यसबाट खासै सुविधा नपाएको अवस्था छ । नेपालमा पहाडका कुना कन्दरादेखि तराइका फाँट, पूर्व मेचीदेखि पश्चिम महाकाली, उत्तरदेखि दक्षिणसम्म हामीले सेवा प्रवाह गरिरहेका छौं । पव्लिक ट्रान्सपोर्ट राज्यको प्राथमिकतामा परेको छैन । राज्यको प्राथमिकतामा नपरेका कारण यस क्षेत्रका धेरै समस्या जस्ताको तस्तै छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बनाउँदा सवारी साधनको संख्या न्युन थियो अहिले करिव ३२ वर्षको दौरानमा पनि सवारी ऐन संशोधन हुन सकेको छैन । सवारी साधनकोे संख्या भने दिनानुदिन बढेको अवस्था छ ।

अब राज्यले के गर्नुपर्ला ?

अहिलेको अवस्थामा राज्यले सवारी ऐन संशोधन गर्ने, छुट्टै यातायात मन्त्रालयको व्यवस्था गर्ने, यातायात प्राधिकरणको स्थापना गर्ने र सवारी साधन आयात सम्वन्धी नीति निर्माण गर्नुपर्छ । नेपालका लागि आवश्यकता अनुसार सवारी साधन आयात गर्ने नीति बनाउनुपर्ने आवश्यकता छ । धेरै सवारीसाधन आयात गर्ने हैसियत नेपालीको छैन । यातायात साधनमा करिव ९९.९ प्रतिशत विदेशी लगानी छ । सवारी चालक र अन्य श्रमशक्तिमात्रै नेपाली छन् । त्यसका पाटपुर्जा, मोविल, लुव्रिकेन्ट लगायत सवारी साधनमा लाग्ने सबै सामान नेपालमा उत्पादन भएका छैनन् । छिमेकी राष्ट्र तथा तेस्रो राष्ट्रबाट आयात गर्नुपर्ने अवस्था छ । यसकारण नेपालको धेरै पुँजी बाहिरिएकोे छ । सवारी साधन आयात सम्वन्धी नीति निर्माण गरि आवश्यकता अनुसार मात्र सवारी आयात गर्ने नीति तयार गर्नुपर्छ । सकेसम्म थोरै सवारी साधनबाट सकेसम्म धेरै यात्रुलाई सेवा दिने नीति लिनुपर्छ ।

मास ट्रान्सपोर्टमा जानुपर्छ भन्ने तपाईंको आसय हो ?

अवश्य पनि मास ट्रान्सपोर्टमा जाँदा देशलाई फाइदा हुन्छ । सवारी साधन आयातको भन्सारबाट राज्य चलाउनुपर्छ भन्ने कुरा पनि आएका छन् तर विश्लेषण गरेर हेर्ने हो भने सवारी साधन आयात गरेर करिव ३ सय प्रतिशतसम्म भन्सार लिएर जति आम्दानी राज्यले गरेको छ त्यो भन्दा तेब्बर रकम पाटपुर्जा, मोविल, लुव्रिकेन्ट लगायतका सामान खरिदमा बाहिरिएको छ । सवारी साधन आयातबाट प्रत्यक्ष रुपमा राज्यलाई आम्दानी भएको देखिएको छ तर अप्रत्यक्ष रुपमा पुँजी कति पलायन भएको छ भन्ने विषय कसैले पनि अध्ययन गरेको छैन । अहिले टोयटा हायसको मूल्य करिव ९५ लाख रुपैयाँ पर्छ त्यसको क्षमता जम्मा १५ सिट छ । करिव ६० लाखमा सामान्य एसि बस तयार हुन्छ जसले करिव ५० जना यात्रु बोक्नसक्छ । यसरी विश्लेषण गर्ने हो भने ठुलो गाडी चलाउदा ट्राफिक जाम, वातावरण प्रदुषण, इन्धन खपत लगायतका कुरामा फाइदा हुन्छ । मास ट्रान्सपोटेसनलाई प्राथमिकतामा राख्नुपर्छ ।

सडक सञ्जालको अवस्थालाई कसरी हेर्नुभएको छ ?

सडक निर्माणमा पनि राज्यले प्राथमिकतामा राखेर काम गर्नुपर्छ । तर, अहिले देशभर सडकको अवस्था धेरै नराम्रो छ । उपयुक्त मापदण्ड नबनाई सडक निर्माण गर्ने क्रम छ । जथाभावी सडक भत्काउने काम भएको छ । देशका अधिकांश मुख्य राजमार्गको अवस्था दयनीय छ । सडकको जिर्ण अवस्थाका कारण सवारी साधनको आयु घटिरहेको छ ।

भनेपछि सार्वजनिक सवारीमा लगानी निकै चुतौतिपूर्ण छ ?

यातायात व्यवसायीले समस्या मात्र तेर्साउने गरेको भन्ने गरिन्छ । तर, हामीले यथार्थ जे छ त्यो देखाउने गरेका छौं । सडक र सार्वजनिक यातायात राज्यको प्राथमिकतामा नपरेका कारण समस्या भएका छन् । पेशाको स्थायित्व नभएका कारण सवारी चालक वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेको छ । लाइसेन्स नभएका कारण सहचालकले सवारी साधन चलाउन नसक्ने अवस्था छ । यस क्षेत्रमा लगानीको सुनिश्चितता छैन । यस व्यवसायबाट धेरै व्यवसायी पलायन हुने अवस्था छ । अन्य विकल्प नभएपछि मात्र यस क्षेत्रमा आएको देखिन्छ । यस व्यवसायलाई धान्न धेरै चुनौती छन् । देशभरका व्यवसायीले चुनौतिहरुको सामना गरी व्यवसाय सञ्चालन गरिरहेको अवस्था छ ।

पृथ्वी राजमाग बस सञ्चालक कम्पनी प्रा.लि. अन्तर्गत करिब १३ सय बस सञ्चालनमा छन् । प्रा.लि.मा आबद्ध भएर बस चलाउँदा व्यवसायीहरु कसरी लाभान्वित छन् ?

व्यावसायिक सुरक्षाका लागि हामीले आफ्नो ठाउँबाट धेरै पहल गरिरहेका छौं । व्यवसायीको सुखदुखको साथी हामी बनेका छौं । विशेष गरी दुर्घटना भएको समयमा हामीले धेरै राहतको काम गरेका छौं । दुर्घटनाको कुरा गर्ने हो भने अहिले नेपाल सरकारले दुर्घटना बीमा प्रिमियमका आधारमा दुर्घटना व्यवस्थापन गर्ने भनेको छ तर कम्पनीले नै व्यवस्थापन गरिरहेको अवस्था छ । यात्रुको मृत्यु भएमा बीमा बापत कम्पनीले ५ लाख रुपैयाँ पाउने हो तर ५० लाखको बार्गेनिङ गर्ने, बाटो बन्द गर्ने, मानसिक तनाव हुने गरेको छ । उपचारमा करोडौं खर्च गर्नुपर्ने हुन्छ तर ३ लाख रुपैयाँ मात्र पाउने स्थिति छ । हामी प्रिमियम बढाउने पक्षमा छौं तर सोही अनुसारको वातावरण सृजना हुनुपर्छ । दुर्घटना व्यवस्थापन गर्न हामीलाई धेरै समस्या छन् । यातायात व्यवसायीका समस्या केके छन् भन्ने कुरामा राज्यले ध्यान दिएको छैन । हामी आफैले आफ्नो ठाउँबाट व्यवसायीहरुको समस्याको सुनुवाई गर्ने काम गनुपर्ने अवस्था छ ।

नीति नियम तथा कानुन व्यवसायीमैत्री छैन, समस्या समाधानको पहल पनि राज्यले गरेको छैन । हचुवाको भरमा कानुन बन्छन्, कर निर्धारण हुन्छन् । हामीले गर्नुपर्ने उत्तरदायित्व पुरा गरिरहेका छौं । जबसम्म पब्लिक ट्रान्सपोर्ट राज्यको प्राथमिकतामा पर्दैन तबसम्म यातायात व्यवसाय सुरक्षित हुने अवस्था छैन । नागरिकले पनि यस क्षेत्रबाट सहज रुपमा सुविधा पाउनुपर्छ भन्ने मान्यतामा हामी छौं । हामी सधैं व्यवसायीहरुको हितमा र यात्रुको सुविधामा तल्लीन छौं ।

सडक सञ्जाल निर्माणका क्रममा लामो समय नबन्ने र यात्रुले दुःख पाउने अवस्था छ । यसमा तपाईंको भनाइ के छ ?

नेपालका सांसद, मन्त्री, लगायतका भिआइपीले सडकबाट यात्रा गर्ने गरेको खासै पाइदैन त्यसकारण पनि बाटोको अवस्था सुध्रिएको छैन । सर्वसाधारणले कति समस्या भोग्नुपरिरहेको छ भन्ने कुरालाई ध्यान दिएको पाइदैन । काठमाडौं पोखरा करिव २ सय किलो मिटरको दुरी पार गर्न १०/१२ घण्टा लाग्ने गरेको अवस्था छ । गन्तव्यमा नपुग्दासम्म बाटोका कारण डराउनुपर्ने अवस्था छ । सडकलाई अति आवश्यक मानिन्छ छ तर सडक निर्माणका नाममा राज्यले नै सडक बन्द गरिरहेको अवस्था छ ।

सार्वजनिक यातायातको क्षेत्रलाई अब कसरी व्यवस्थित गर्न सकिएला ?

व्यवसायीको चाहनाले मात्र पब्लिक ट्रान्सपोर्ट व्यवस्थित हुँदैन । यातायात व्यवसायीले धेरै काम गरेका छन् भन्ने वातावरण पनि हामीले सृजना गर्न सकेका छैनौं । नियमनकारी निकायको खाँचो छ । सरकारले पनि उचित वातावरण सृजना गर्नुपर्छ । यस क्षेत्रलाई अन्योलताबाट मुक्त गराउनुपर्छ । अस्थिर नीतिका कारण व्यवसायलाई निरन्तरता दिनुभन्दा पनि छोड्नुपर्ने अवस्था छ । विभिन्न झमेलाका कारण हामी पनि पब्लिक ट्रान्सपोट राज्यले संचालन गरोस् भन्ने पक्षमा छौं ।

एक जनाले एउटा कम्पनी खोलेर व्यवसाय सञ्चालन गरेको अवस्था छ । उसको आम्दानीको स्रोत के छ, दुर्घटना पछि व्यवस्थापन गर्नसक्ने अवस्था छ वा छैन भन्ने विषय कहि कतैबाट पनि प्राथमिकतामा परेको छैन । कम्पनी दर्ता गर्नुपूर्व सवै कुरा हेर्नु आवश्यक छ । हामीले एक जना पैदल यात्रुको लागि १ करोड भन्दा धेरै रकम खर्च गरेको प्रमाण हामीसँग छ । कथमकदाचित दुर्घटना भइहाल्यो भने हामी त्यही हिसावले तयारीमा छौं र काम गरिरहेका छौं । हामी आफ्नो ठाउँमा जिम्मेवार छौं, राज्य पनि जिम्मेवार बन्नुपर्छ भन्ने हाम्रो माग हो ।

lcci
You might also like

Comments are closed.