कोरोनासँग डराउने कि, सार्वजनिक बस चलाउने ?

५ सय रुपैयाँ भाडा लाग्ने ठाउँमा ५ हजार रुपैयाँ भाडा लिएर प्राइभेट गाडीले मान्छे किन बोकेको ?

योगेन्द्रबहादुर केसी

सरकारले तयार गरेको मापदण्ड अनुसार सुरक्षा सतर्कता अपनाएर सार्वजनिक सवारी साधन सञ्चालन गर्छौं भन्दा पनि नदिने, अर्कोतर्फ निजी सवारी साधनमा सिट क्षमता भन्दा बढि मान्छे राखेर यात्रा गर्ने दृश्य बजारमा देखिएका छन् । भाडाको त कुरै नगरौं, कतिसम्म ठग्न सक्या ? ५ सय रुपैयाँ भाडा लाग्ने बाटोमा ५ हजार रुपैयाँ असुलेर प्राइभेट गाडीले काठमाडौं–पोखरा मान्छे ओसारेका धेरै उदाहरण हामीसँग छन् ।

बजारमा गयो पार्किङ पाइदैन । कस्तो सुरक्षा मापदण्ड कायम गरेका छौं हामीले ? यसमा सबैको दायित्व र जिम्मेवारी बराबर होइन ? छिमेकी देश भारतमा सबै खुल्ला छ । सबै नागरिक सचेत भएका छन्् । होला दैनिक ८० हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन्् । रिकभरि पनि त्यस्तै छ । युरोपका अधिकांश देश लकडाउनबाट उन्मुक्ति भए । सबै नागरिकले बन्दाबन्दीमा सुबिधा पाएकै थिए । हाम्रो देश जहाँ सुबिधा त सम्भव थिएन । हामीलाई थाहा छ आर्थिक अबस्था कमजोर छ ।

सबै पेशा व्यवसायी घरको न घाटको हुने अवस्था आयो । करिब १५ लाख व्यवसायीले बैंकबाट ऋण लिएर विभिन्न पेशा, व्यवसाय गरेका छन् । सबैको अवस्था निकै दयनीय बन्दै गएको कुरामा दुईमत छैन ।

राज्यसँग हामी पेशा व्यवसायीले धेरै ठुलो अपेक्षा त राखेका छैनौं । अपेक्षा राखेर पनि राज्यले दिन पनि त सक्दैन, सबैलाई थाहा छ । मात्र राज्यले गर्ने सहजीकरण हो । भर्खरै मात्रै ‘विद्वान अर्थमन्त्री’को बहिर्गमन भयो । दर्शनमा उहाँ विज्ञ हुनुहोला तर नेपालमा सबै उहाँको दर्शनको मात्रै भर परेर देशको अर्थतन्त्रको अल्पकालीन रुपमा धरासायी भएको छ । हो, दीर्घकालीन रुपमा फाइदा गरेको होला । तर, समस्या त अहिले छ नि । पूर्व अर्थमन्त्री ज्युले भनिदिनुस् त जो हुँदा खाने बर्गलाई कहाँ नेर राहतका कार्यक्रम ल्याउनु भयो ? भन्न हजुरलाई कठिन छ । हामी तल्लो वर्गका व्यवसायी धेरै दुःखी छौं हजुरसँग । कठ्ठै उखान छ, ‘भोकाले भन्छ डाँडावारी खाउँ, अघाएकाले भन्छ डाँडापारी गएर खाउ’ अहिले हाम्रो अवस्था यस्तै छ ।

अहिले संकट छ । बैंकमा लगानी गर्ने लगानी कर्ता पनि हामी जस्तै नागरिक हुन् । उहाँहरु बढी पैसा भयो, बैंक खोल्नु भयो । हामी क्षमता अनुसारको पेशा रोज्न पुग्यौं । हामी जस्ता तल्लो बर्गमा लगानी भएका व्यवसाय बन्द छन् । सञ्चालनमा भएकाहरु पनि चौपट अबस्थामा छन् । आम्दानी छैन, घर भाडा र बैंकको किस्ताले सताएको छ । जबसम्म लामो तथा छोटो दुरिका सार्वजनिक सवारी साधन सञ्चालन हुँदैनन् सबैको अवस्था दयनीय नै हुन्छ । सार्वजनिक बस चलेपछि प्राय व्यापार व्यवसाय केही चलायमान हुनसक्छ ।

अब राज्यले कोरोनासँग जुध्दै, सबै पेशा व्यवसायीलाई सचेत, सजग र उच्च सावधानी अपनाउँदै अगाडि बढ्न अभिप्रेरित गर्दै राज्यका सबै आयामलाई चलायमान बनाउनु अबको आवश्यकता हो । राज्यले पनि आफ्ना नागरिकलाई बचाउनेतर्फ सोच्नुपर्छ र सकारात्मक पक्षबाट पनि लिनुपर्छ ।

अहिले करिब १ सय ७० दिन भन्दा बढी समय भयो बन्दाबन्दी भएको । अहिलेसम्म सार्वजनिक यातायात, हवाइ सेवा, निजी तथा सरकारी विद्यालय बन्द छन् । फेरि अरु पेशालाई मैले राम्रो भन्न खोजेको छैन । समस्या सबैका एकै खालका छन् । अझ सार्वजनिक यातायातमा स्वरोजगार रुपमा धेरै छन् । सबै भन्दा यो बर्ग प्रताडित छ । खानलाई समस्या छ ।

कल्पना गरौं त दैनिक रुपमा काम गरी खाने वर्ग यसमा समाबेश छ । अब हामी मेचीमहाकालीसम्मका नेतृत्वमा रहने साथीहरूले एक पटक सोच्ने बेला आएको छ । अब कोरनासँग डराएर भोकै मर्ने या सामाजिक दुरी कायम गर्दै, माक्स, सेनेटाइजर प्रयोग गर्दै उच्च सुरक्षा मापदण्डअनुसार अनुसार सार्वजनिक यातायातका सवराी साधन चलाउने ?

साधनमा आधा संख्यामा यात्रु राखेर सञ्चालन गर्ने विषयमा सबैले आफ्नो प्रदेश जिल्ला तहबाट अभियान सञ्चालन गर्नुपर्छ । आफ्ना मजदुर साथीहरूलाई पनि प्रशिक्षित गराएर, सुरक्षित भएर सवारी सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ । आम नागरिकमा समेत आवश्कताका आधारमा मात्र यात्रा गर्नुहुन अनुरोध गर्ने जिम्मेवारी हाम्रो हो । असोज १ गतेदेखि सार्वजनिक सवारी सञ्चालन गर्ने विषयमा राज्य पनि सकारात्मक रहनेछ भन्नेमा हामी आशावादी छौं । प्रधानमन्त्री ज्युले पनि विशेष निर्देशन दिनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।

(लेखक पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष हुन् ।)

lcci
You might also like

Comments are closed.