युवा उद्यमीको दसैं परिवारमा मात्रै सीमित

काठमाडौं । कोरोना महामारीबीच नेपालमा दसैं मनाइएको छ । यद्यपि, यस वर्षको दसैं घरपरिवारमा मात्रै सीमित रह्यो । कोरोना जोखिमलाई ध्यान दिदै आफ्नै घर परिवारका सदस्यभित्र मात्रै प्रायले टीका लगाए ।

आफ्नो घरमा टीका लगाइसकेपछि अन्य आफन्त तथा मान्यजनको हातबाट टीका ग्रहण गर्ने चलन बिगतका दसैंमा हुन्थ्यो । धेरै ठाउँमा टीका ग्रहण गर्न जाँदा कोरोना संक्रमणको त्रास झनै बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी यस पटक प्रायले आफ्नै घरमा मात्रै सीमित भएर टीका लगाएका हुन् ।

हामीले केही युवा उद्यमीलाई कसरी दसैं मनाउनुभयो भनेर सोधेका छौं । प्रस्तुत छ उहाँहरुको दसैं अनुभवः

जनक धामी, अध्यक्ष, हरपल फुड्स प्रा.लि.

यस भन्दा अगाडिका दसैंमा भन्दा यो पटकको दसैंमा फरक अनुभव रह्यो । सारा विश्व नै कोरोनासँग संघर्ष गरिरहेको यो समय नेपालमा पनि यसको जोखिम दिनप्रतिदिन बढिरहेको छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा हामीले दसैं मनाउनु परेको छ । यो दसैंमा घरबाट बाहिर कहीँ पनि नजाने र घरपरिवार भित्र मात्रै दसैं मनाउने निश्कर्षमा हामी पुग्यौं । घरबाहिर धेरै ठाउँमा जाँदा कोरोनाको जोखिम बढ्न सक्छ भन्नेतर्फ हामीहरु सचेत हुनैपर्छ । कोरोना जोखिमलाई मध्यनजर गरेर नै यस पटक घरभित्र परिवारका बीच आफसमा टीका लगाउने गरियो ।

बिक्रम कर्माचार्य, कार्यकारी निर्देशक, कर्माचार्य ग्रुप

यो वर्षको दसैैंमा कोरोना संक्रमणको त्रास रहेकाले हामीहरु सचेत भएर टीका लगायौं । कोरोना भाइरस (कोभिड–१९) को समय परेकाले सचेत नागरिकका हिसावले धेरै ठाउँमा जाने काम भएन । घरमै परिवारसँग बसेर दसैं मनाएँ । परिवारभित्रै रमाइलो ग¥यौं । कोभिडका कारण आफन्तहरुकोमा जान सकिएन । सहज अवस्था आएपछि अर्को दसैंमा सबै ठाउँमा पुगेर टीका लगाउन सकिन्छ । यस पटक स्वास्थ्यलाई नै प्राथमिकतामा राखेँ । संक्रमण रोकिएमा मानवजातिलाई कल्याण हुन्छ । संक्रमण जोखिम कम गर्ने दायित्व हामी सबैको हो । त्यसकारण घरमा मात्र टीका लगाएँ ।

प्रकाशदेव पालिखे, अध्यक्ष, नेपाली युवा उद्यमी मञ्च

गत वर्षहरुमा जस्तो गरी धेरै ठाउँमा नगई घरमै मात्र बसेर परिवारसँग टीका लगाउने काम भयो । आफ्नो घर परिवार र मूलघरमा मात्रै टीका लगाउन गयौं । संक्रमणलाई ख्याल गरेर पनि धेरै ठाउँमा जानु हुँदैन भन्ने लाग्यो । दसैंसँगै अब अन्य चाड पनि आउँदैछन् । हामी सबै सचेत भएर यो विषम परिस्थितिमा चाडपर्व मनाउनुपर्छ ।

पंकज ज्ञवाली, अध्यक्ष, हाइलाइफ फुड्स प्रा.लि.

यस वर्षको हाम्रो दसैं घरभित्र मात्रै सीमित रह्यो । परिवारका सदस्यहरुबीच टीका लगाउने काम भयो । गत वर्ष फ्याक्ट्रीका कामदारहरु पनि घरघरमा गएर रमाइलो गर्ने र दसैं पछि फर्कने अवस्था हुन्थ्यो । यस पटक कामदारले पनि कोरोना जोखिमलाई ख्याल गरी फ्याक्ट्रीमै दसैं मनाए भने हामी पनि घरभित्र मात्रै सीमित भएर दसैं मनायौं । कोभिड महामारीका बीचमा नेपालमा दसैं पर्व मनाइएको छ । हामीले पर्व मनाउने बाहनामा जोखिम बढाउनु हुँदैन । यसतर्फ सबै सचेत हुनुपर्छ । म पनि सचेत भएर दसैं मनाएँ ।

lcci
You might also like

Comments are closed.