योयो जीपलाइन, आकाशमा साइक्लिङ !

काठमाडौं । आकाशमा साइक्लिङ गर्दा कस्तो होला ? आकाशमा साइक्लिङ गर्दाको मज्जा तपाईंले पनि अब लिन सक्नुहुनेछ । योयो जीपलाइन प्रा.लि.ले ‘स्काइ साइकिलिङ’को सेवा अब छिट्टै सुरु गर्दैछ ।  युवा व्यवसायीहरुको संयुक्त लगानीमा योयो जीपलाइन प्रा.लि. सञ्चालनमा आउन लागेको हो ।

भक्तपुरस्थित सूर्यबिनायक ७ घ्याम्पे डाँडामा योयो जीपलाइनले स्काई साइक्लिङसहित जीपनलाइन, क्यानओपी साइक्लिङ र स्विङ सेवा सञ्चालनमा ल्याउन लागेको छ । राजधानी काठमाडौंको नजिकै रहेको घ्याम्पे डाँडालाई पर्यटनको गन्तव्य स्थल बनाउने सोचका साथ योयो जीपलाइन सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष रामशरण तिमिल्सिनाले आर्थिक आवाजलाई जानकारी दिए ।

कम्पनीले माघको दोस्रो सातासम्म स्काइ साइक्लिङ, जीपलाइन र क्यानओपी साइक्लिङ सेवा सञ्चालनमा ल्याउने तयारी गरेको तिमिल्सिनाले जानकारी दिए । स्विङका लागि आवश्यक केही सामान विदेशबाट आउने प्रक्रियामा रहेको र टावर निर्माण भइरहेकाले एक महिनाभित्र सञ्चालन हुनेछ । ‘सेवा सञ्चालनको अन्तिम तयारीमा हामी छौं,’ तिमिल्सिनाले भने, ‘घ्याम्पे डाँडा अब आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्नेमा विश्वस्त छौं ।’

एउटा डाँडाबाट अर्को डाँडासम्मको ३ सय मिटर दुरीमा स्काई साइक्लिङको मज्जा पर्यटकले लिन सक्नेछन् । ‘यो नेपालका लागि नयाँ पर्यटकीय प्रडक्ट हो,’ तिमिल्सिनाले भने, ‘सुरक्षाका सम्पूर्ण विधि अपनाएर पर्यटकलाई सेवा दिनेछौं ।’ १ हजार २ सय मिटर र ३ सय ५० मिटर लम्बाइको दुरीमा दुईवटा जीपलाइनको सुविधा उपलब्ध हुनेछ ।

काठमाडौंबाट नजिकैको दुरीमा सञ्चालनमा आउने भएकाले पनि योयो जीपनलाइन धेरै पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने कम्पनीले विश्वास लिएको छ । घ्याम्पे डाँडा पुगेका पर्यटकलाई सेवा दिन सोही ठाउँमा रेष्टुरेन्टसमेत सञ्चालनमा आउनेछ । भविष्यमा अन्तर्राष्ट्रियस्तरको होटल पनि निर्माण तथा सञ्चालन गरिने उनले बताए । ‘यहाँका अन्य व्यवसायीहरुलाई पनि समेटेर हामी अगाडि बढिरहेका छौं,’ उनले भने ।

आगामी दिनमा साइक्लिङ, हर्स राइडिङ, प्याराग्लाइडिङ लगायतको सेवा सुविधा पनि प्रदान हुने तिमिल्सिनाले बताए । करिब २५ रोपनी जग्गामा जीपलाइन सञ्चालन हुनेछ भने २५ रोपनी जग्गामा होटल निर्माण गर्ने कम्पनीको तयारी छ । पहिलो चरणमा योयो जीपलाइनमा २१ जनाले प्रत्यक्ष रोजगारी पाइसकेका छन् ।

You might also like

Comments are closed.