नेपालमा होटल व्यवसायको इतिहासलाई फर्केर हेर्दा यसले दरबार संस्कृतिसँग गहिरो सम्बन्ध बोकेको देखिन्छ । विगतमा नेपाल आएका उच्चस्तरीय, विशिष्ट तथा सम्मानित पाहुनाहरूलाई होटलमा होइन, दरबारमै राख्ने परम्परा थियो । हाइ–क्लास डेलिकेट पाहुनाहरू दरबारमै बस्ने चलन लामो समयसम्म कायम रह्यो । तर समयक्रमसँगै पाहुनालाई व्यवस्थित, व्यावसायिक तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा दिनुपर्छ भन्ने सोच विकसित हुँदै गयो । यही सोचको परिणामस्वरूप नेपालमा होटल रोयलको सुरुवात भयो, जसले पाहुनालाई दरबारको सट्टा होटलमा राख्ने संस्कृतिको आधार निर्माण ग¥यो ।
सुरुवाती चरणमा नेपालमा साना तथा मझौला होटलहरू मात्र सञ्चालनमा थिए । ठूला र तारे होटलहरूको अवधारणा खासै विकसित भइसकेको थिएन । तर पर्यटन क्षेत्र विस्तार हुँदै जाँदा तारे होटलहरूको स्थापना क्रमशः सुरु भयो । आजको अवस्थामा आइपुग्दा देशभर होटलहरूको उल्लेखनीय विस्तार भएको छ, जुन नेपाली होटल उद्योगको महत्वपूर्ण उपलब्धि हो । हाल नेपालमा २० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका होटलहरूले सेवा प्रदान गरिरहेका छन् । अन्तर्राष्ट्रिय होटल ब्राण्डका म्यानेजमेन्ट कम्पनीहरूले हरेक वर्ष ६–७ वटा नयाँ होटल प्रोपर्टी नेपालमा व्यवस्थापन गरिरहेका छन् । यसले नेपाली होटल उद्योगप्रति विश्व बजारको विश्वास बढ्दै गएको स्पष्ट संकेत गर्छ । पूर्वदेखि पश्चिमसम्म, तराईदेखि पहाड र हिमालसम्म स्तरिय होटलहरूको संख्या निरन्तर बढ्दै गएको छ, जसले पर्यटन पूर्वाधारलाई थप सबल बनाएको छ ।
होटल संघ नेपालले हिरक महोत्सव (६० औँ वर्ष) मनाइरहेको सन्दर्भमा हेर्दा, यी छ दशकमा होटल व्यवसाय क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको स्पष्ट देखिन्छ । विश्वस्तरमा नाम चलेका अन्तर्राष्ट्रिय ब्राण्डहरूको नेपालमा उपस्थिति हुनु सम्पूर्ण पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो । नेपाल सरकारले भ्रमण वर्ष २०२० को तयारी गरिरहँदा करिब १९ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता नेपालसँग थियो । सोही आधारमा होटल क्षेत्रमा ठूलो लगानी भयो । तर कोभिड–१९ महामारीका कारण होटल तथा पर्यटन क्षेत्र गम्भीर रूपमा प्रभावित भयो । हाल माग र आपूर्तिबीच केही असन्तुलन देखिए पनि व्यवसायीहरूमा उत्साह बिस्तारै फर्कँदै गएको छ । यसमा आन्तरिक पर्यटनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको छ ।
नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, एडभेन्चर स्पोट्र्स र गौतम बुद्धको जन्मभूमिका रूपमा विश्वमै फरक गन्तव्य हो । तर राजनीतिक अस्थिरता र कमजोर एयर कनेक्टिभिटी होटल व्यवसायका प्रमुख चुनौती हुन् । यदि राजनीतिक स्थिरता, पर्यटनमैत्री नीति र अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी विस्तार गर्न सकियो भने नेपाली होटल तथा हस्पिटालिटी क्षेत्रले अझ ठूलो फड्को मार्ने निश्चित छ ।




Comments are closed.