सरु दाहाल अधिकारी
अध्यक्ष, थाहा फाउन्डेसन नेपाल
महिला भएको कारण, महिलामाथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुव्र्यवहारलाई महिला हिंसाको रुपमा लिने गरिएको छ । समाज तथा मानव शास्त्रीहरुले हिंसा सामाजिक व्यवस्था र संरचनाको उपजको रुपमा लिने गरेका छन् । यौन शोषण, बलात्कार, सम्बन्धबिच्छेद, कुटपिट, बेचबिखन, दाइजोका कारण गरिने यातना र व्यवहार सबै महिला हिंसाका रुप हुन् । यस्तो हिंसा हरेक समुदाय, समाज, संस्कृति, धर्ममा भएको पाइन्छ । हिंसा हिमाल, तराइ, पहाड सबैतिर हुने गरेको छ । हिंसाका स्वरुप फरक होलान्, तर गरीब, मध्यवर्ग, धनी सबै बर्गमा देखिएको छ ।
नेपालमा शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा महिला हिंसा बढी हुने गरेको छ । यौन शोषण र यौनजन्य दुव्र्यबहार शहरमा पनि व्याप्त छ । बलात्कार, त्यसमा पनि नाबालिग माथि हुने जबर्जस्ती करणी बढ्दै गइरहेको छ । बोक्सीको आरोप लगाएर यातना दिने र दाइजोको कारण कुटपिट र आगो लगाएर मार्नेसम्मको हिंसा अन्यत्रको तुलनामा तराइमा व्याप्त छ । महिला बेचबिखनका शिकार अधिकांश पहाडी मूलका हुने गरेका छन् । सम्बन्ध विच्छेद, सौता हाल्ने र यौनजन्य हिंसा सबैतिरको समस्या हो । कामकाजी महिलामाथि गरिने यौनजन्य दुव्र्यबहार, सार्वजनिक यातायात तथा स्थलमा महिलाले भोग्दै आइरहेको हिंसात्मक दुव्र्यवहार अन्यत्रभन्दा शहरी क्षेत्रमा ब्याप्त छ । शारीरिक हिंसा बाहेक मानसिक, सामाजिक, बौद्धिक शोषण, दमन पनि सर्वत्र ब्याप्त छ, तर यस्ता हिंसा अदृश्य हुने भएकाले यस्तो घटना कमै मात्र सार्वजनिक हुने गरेका छन् । महिलामाथि हुने हिंसाको घटनाहरु बढ्नुमा पुरुषको अहंता, धर्म शास्त्रमा महिलालाई पुरुषभन्दा तल्लो दर्जामा राख्नु, महिलामा प्रतिरोध क्षमताको कमी हुनु, पुरुष र महिला दुबैमा सचेतनताको अभाव मूलरुपमा दोषपूर्ण छ ।
महिला हिंसामा पुरुषलाई मात्र दोष दिने दृष्टिकोण आफैंमा दोषपूर्ण छ । यस्ता हिंसामा पुरुष दोषी देखिनु एक हदसम्म सहि हो, तर पूर्ण सत्य भने होइन । खासगरी नेपालमा महिलामाथि हुने गरेका अधिकांश हिंसामा महिलाको संलग्नता देखिने गरेको छ । महिलाको शत्रुु महिला नै हुन्छन्, भन्ने भनाई कटुसत्य हो । बलात्कार तथा अन्य यौनजन्य हिंसामा बाहेक प्रायः सबै हिंसामा महिलाको भूमिका देखापर्ने गरिएको छ । छोरा नजन्माएको भनी सौता हाल्न लगाउने घरको महिला मूली (सासू) नै हुन्छिन् । दाइजोको निहुँमा बुहारीमाथि यातना दिनेमा सासु र नन्द नै अघि सरेका हुन्छन् । बहुविबाहको घटनामा पनि सौता बन्न स्वीकार्ने महिला नै हुन्छन् । समाजमा सासु र बुहारीबीच समन्वय, असल सम्बन्ध मात्र कायम भएमा पनि महिलामाथि हुने आधी हिंसा कम हुन्छ । बुहारीलाई छोरी नमान्ने र सासुलाई आमा नमान्ने सोचकै कारण घरेलु हिंसामा महिला बढी पीडित हुने गरेका छन् । सासुलाई कुट्ने बुहारी पनि प्रशस्त छन् । अधिकांश घरेलु हिंसामा महिलामाथि हिंसा गराउन पुरुषलाई उक्साउने महिला नै हुन्छन् । छोराछोरीमाथि गरिने विभेदमा पनि महिला नै अघि सरेका हुन्छन् । त्यसैले महिला हिंसा रोकथाम र नियन्त्रण गर्न सबैभन्दा पहिला महिला पुरुष, महिला महिलाबीच मैत्री सम्बन्ध हुनुपर्छ । यदि यसो हुन नसकेको अवस्थामा राज्यले संबिधान र कानुनमा महिलालाई जति धेरै अधिकार प्रदान गरे पनि हिंसा रोकिने वा कम हुनेवाला छैन । कानुनमा महिलामाथि हिंसा गर्नेमाथि कडाभन्दा कडा सजायको ब्यवस्था त गरिनु पर्छ नै साथसाथै महिला पुरुष एकै रथका दुइ पांग्रा हुन् भन्ने जनचेतना फैलाउनु पर्छ ।
१०९औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै गर्दा नारीहरु, समान कामको समान ज्याला पाउनका जुन आन्दोलन गरि आफ्नो अधिकार स्थापित गरेको दिन ८ मार्च कुनै सम्पन्नसाली महिलाहरुले तारे होटलमा मनाउने दिवस हैन यो त नितान्त श्रमिक महिला जुन दिन भरी गिटी कुटेर बेलुका बाल बच्चाहरुको हात मुख जोड्ने आवश्यकता पूरा गर्नुहुन्छ, गाउँमा दिन भरि मेलापात गरेर थाकेको शरीर घरमा आएर सँगै काम गरेका श्रीमानलाई तेल घस्न पर्छ, बिकट दुर्गमका महिलाहरू सुत्केरी हुन नसकेर अकालमा मर्न पर्छ, बिरामी हुँदा सिटामोल पाउनु हुँदैन, स्त्री रोगबाट पीडित हुनुहुन्छ, छोरा नपाय सौता ब्यहोर्नु पर्छ, दाइजो नल्याय जीउदै जल्नु पर्छ, बोक्सीको आरोपमा ‘गु’ खानु पर्छ, छाउपडिमा सर्पले डरेर मर्न पर्छ, सासुले छोरालाई कुरा लाएर बुहारी गोदिन पर्छ, बुहारीले कुरा लगाएर जन्मदिने आमालाई हेला गरिन्छ, महिलाको सौता बन्न महिला नै जानुपर्छ, छोरीलाई बाल बिबाह गराइन्छ, हो यस्ता कुपर्थालाई तोढ्ने हो भने छुटकरा पाउने दिन जबसम्म आउदैन तबसम्म नारी खुसी हुन सक्दिनन् । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ नारासहित १०९८औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा महिला कानूनमा मात्रै होइन व्यवहारमै लागू गर्न दबाब दिन आवश्यक छ ।
Comments are closed.