अब पोखरा अन्तर्राष्ट्रिय शहर बन्नुपर्छ : विश्वशंकर पालिखे

विश्वशंकर पालिखे
अध्यक्ष
पोखरा उद्योग वाणिज्य संघ

 

पोखराको नयाँबजारमा पुस २७ देखि माघ ८ गतेसम्म सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको मेलाका विविध पक्ष तथा संघका गतिविधिमा केन्द्रित रहेर संघका अध्यक्ष विश्वशंकर पालिखेसँग आर्थिक आवाजका लागि गरिएको कुराकानीः

बिगतको तुलनामा यस पटक मेलामा खास फरक के छ ?
विगतका वर्षमा हामीले मेलाको टाइटल स्पोन्सर पाएका थिएनौं । यसपटक पोखरा कै प्रशिद्ध कम्पनी लक्ष्मी हाउस मेलासँग जोडिएको छ र आफ्नो ब्राण्डिङ गरेको छ । जुन हाम्रो सफलता हो । हामीले यसलाई ५ वर्षसम्म निरन्तरता दिने लक्ष्य लिएका छौं । दर्शकको स्वास्थ्यलाई ध्यान दिदैं मेलास्थलमा धुलो नउढ्ने बनाएका छौं । आवत जावतको लागि सहज बनाएका छौं । नेपाल इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर रोवटिक हन्टेड हाउस पनि महोत्सवमा प्रदर्शन गर्नेछौं । अटो मेला र मोबाइल एक्स्पोको लागि पनि हामीले सहकार्य गरेका छौं । महोत्सवले छुट्टै पहिचान बनाउन सफल हुनेछ भन्ने हामीलाई विश्वास छ । विभिन्न जातजातिबीच सहिष्णुता हुनुपर्छ भन्ने हिसाबले हामी माघ १ गते माघी र फागुन ४ गते सोमान ल्होसार मनाउने छौं । राष्ट्रिय ख्याती प्राप्त कलाकारको विशेष प्रस्तुति मेलामा रहनेछ ।

स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धनमा मेलाको भूमिका कस्तो रहन्छ ?
नेपाली उत्पादन तथा हस्तकलाका सामानको प्रदर्शनी मेलामा गरिनेछ । ने उत्पादनको प्रवद्र्धनको लागि विशेष पहल हामीले गरिरहेका छौं । कृषि उत्पादन तथा नेपाली जडिबुटीको पनि मेलामा प्रदर्शन गरिनेछ । होम स्टे व्यवसायको स्टल पनि मेलामा रहनेछन् जसले पोखरा तथा आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्नेछ । स्थानीय उत्पादन र पर्यटन प्रवद्र्धन मेलाको मुख्य लक्ष्य हो ।

मेलाका आकर्षणहरु केके छन् ?
यो समयलाई महोत्सवको मौसम भन्दा पनि हुन्छ । देशका विभिन्न स्थानमा मेला तथा महोत्सव चलिरहेका छन् । पोखरा मात्र नभई बाहिरका दर्शकको समेत आर्कषण बढाउन हामीले विभिन्न कार्यक्रम आयोजना गर्नेछौं । हामीले सञ्चालन गर्ने सम्पूर्ण कार्यक्रम मेला आकर्षण बन्नेछन् । औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पूष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधीहरुको प्रदर्शनी लगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण हुन्छ । लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको साँगीतिक कार्यक्रम, लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, बालउद्यान तथा साथमा स्थापित हाँस्य कलाकारहरुद्वारा मनोरञ्जनात्मक कार्यक्रम पनि महोत्सवको आकर्षण बन्नेछ ।

संघको नेतृत्व गरेको कार्यकाललाई कसरी सम्झनुहुन्छ ?
मेरो कार्यकालमा म सफल भएको छु भन्ने लाग्छ । पोखराका उद्योगी तथा व्यवसायीले हाम्रो मुल्याङ्कन गर्नुभएको छ । हामीले उद्योगी
व्यवसायी साथीहरुको समस्या पहिचानको लागि प्रश्नपत्र तयार गरी पत्राचार गरिरहेका छौं । स्वास्थ्य र अग्नी बिमाको पनि प्रयास गरिरहेका छौं । दर्ता नगरी सञ्चालन गरिएका उद्योग व्यवसायको अनुगमन पनि हामीले गरिरहेका छौं । क्षमता अभिवृद्धिका तालिम पनि हामीले सञ्चालन गरिरहेका छौं । बैंक तथा वित्तीय संस्थाले गरेको ब्याज वृद्धिको सम्वन्धमा हामीले राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग पनि कुरा गरेका थियौं । हामीले समस्या समाधानमा लविङ गर्ने हो ।

संघकै अगुवाईमा पोखरामा सोलार लाइट जडान भएको छ । यसको जस कसरी लिनुहुन्छ ?
सोलार लाइट चीन सरकारबाट पोखरा लेखनाथ महानगरपालिकालाई आएको उपहार हो । हामीले यसको लागि मध्यस्थकर्ताको भुमिका मात्र निर्वाह गरेका हौं । सिसी क्यामराको अवधारणालाई कसरी लैजाने भन्ने पनि छलफलको क्रममा छ । यसलाई छिट्टै मूर्त रुप हामी दिनेछौं । मर्दी खोलामा हामीले ३ वटा शवदहन गृह, ३ शौचालय र ३ वटा कपडा धुने ठाउँ निर्माण गरेका छौं । हामीले थप ५ वटा पनि बनाउने लक्ष्य लिएका छौं । हामीले सकेसम्म काम गर्ने हो । कामको जस लिनतर्फ म लाग्दिन ।

व्यवसायीहरुको झेल्दै आएका मुख्य समस्या केके छन् ?
व्यवसायीको सबैभन्दा ठुलो समस्या भनेको घरभाडा सम्वन्धी रहेको हामीले पाएका छौं । यसमा विभिन्न समस्या आउने गरेका छन् । सरकारले यस विषयमा छुट्टै नियम बनाउनु जरुरी छ । व्यवसायीलाई समस्या नपरोस् भनेर हामीले यसमा लविङ गरिरहेका छौं ।

अन्त्यमा, के भन्नुहुन्छ ?
लामो प्रयास पश्चात सन् २०२१ जुलाई १० मा हामीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल पाउदैछौं । विमानस्थल बन्दैमा सञ्चालनमा आउछ भन्ने निश्चित छैन । यसलाई सफलतापुर्वक सञ्चालन गर्न राज्य र निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । यो क्षेत्रको फ्लाइट अपरेशनको लागि के–कस्ता सुविधा दिने र कुनकुन अन्तर्राष्ट्रिय एयरलाइन्सलाई पोखरामा ल्याउन सकिन्छ र कस्तो वातावरण बनाउनुपर्छ भन्ने कुरामा नेपाल सरकारले पहल गर्नुपर्छ । निजी क्षेत्रले पनि यसमा विशेष पहल गर्नुपर्छ । पोखरालाई अन्तर्राष्ट्रियस्तरको शहर बनाउनुपर्छ ।

You might also like

Comments are closed.