हेमजा आलु महोत्सवको तयारी तीव्र

पोखरा, ५ फागुन ।
दशौं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी तीव्र पारिएको छ । छ । आगामी चैत २२ गतेबाट बैशाख १ गतेसम्म हेमजा स्थित विष्णुपादुका खेल मैदानमा सञ्चालन हुने महोत्सव बारे आइतबार छलफल समेत गरिएको छ ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ सम्पन्न हुने महोत्सव मुल आयोजक समितिका संयोजक एवं आयोजक विष्णुपादुका क्लवका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षतामा शनिवार बसेको बैठकले धर्मराज बास्तोलाको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । समितिका सदस्यहरुमा दानबहादुर थापा, ऋषिराम पौडेल, चन्द्रकान्त तिमिल्सीना, शिवकुमार श्रेष्ठ, हरी खड्का, प्रकाशचन्द्र सापकोटा, ईश्वरी बास्तोला, दलबहादुर कुँवर, लक्ष्मी अधिकारी, तारा विक, जीतबहादुर कार्की र ऋषिराम शर्मा रहेका छन । त्यस्तै बैठकले सल्लाहकार पनि चयन गरेको छ । त्यस अवसरमा विभिन्न उपसमितिले आ–आफ्ना गतिविधि पनि जानकारी गराएका थिए ।

महोत्सवको आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, प्रदेश स्तरीय कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन् ।

हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत विभिन्न समूहमा व्यवसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लव भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।

महोत्सवमा ४० वटा कृषि प्रदर्शनीका स्टल, १५ वटा कृषि उत्पादन बिक्री वितरण स्टल, ३५ वटा व्यापारिक स्टल, १५ वटा आलु तथा कृषि उत्पादनका परिकार स्टल, दुई प्राथमिक उपचार, पाँच बैकिङ कारोवार तथा पाँच वटा मनोरञ्जन स्टल रहने अर्थ संकलन उपसमितिका संयोजक मदन थापाले जानकारी दिए ।

You might also like

Comments are closed.