खेल पर्यटन प्रवद्र्धनको लक्ष्यसहित पचभैयामा वडास्तरीय भलिबल

आर्थिक आवाज
पोखरा, २ वैशाख । पोखराको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको पोखरा–३१, पचभैयामा प्रथम वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । खेल पर्यटन प्रवद्र्धनको लक्ष्यसहित पचभैया प्रगतिशील युवा मञ्चको आयोजना तथा पोखरा महानगरपालिका वडा नंम्बर ३१ कोे संयोजनमा आगामी बिहीबारदेखि प्रतियोगिता हुने भएको हो ।

नक आउट आधारमा खेलाइने प्रतियोगिता तीन दिनसम्म चल्ने सोमबार मञ्चद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिताबारे जानकारी दिदै मञ्चका अध्यक्ष सुनिल थापाले पर्यटकीय क्षेत्रमा हुने प्रतियोगिताले खेलकुदको मात्रै नभई पचभैया क्षेत्रको पर्यटन प्रवद्र्धन र विकासमा टेवा पु¥याउने दावी गरे । पोखरा महानगरका ३३ वडा र अन्य गाउँपालिकाका गरी करिब ४० टीमको सहभागिता रहने प्रतियोगिता अमरसिद्ध नमुना उच्च मावि पचभैयाको खेलमैदानमा हुनेछ ।

मञ्चको पहलमा आफ्नै खेलमैदान निर्माणको क्रम चलिरहेकाले त्यसको विकासका लागि पनि प्रतियोगिताले टूलो टेवा पुग्ने प्रतियोगिताका खेल संयोजक पुरुशोत्तम अधिकारीले सोही अबसरमा बताए । निर्माणकै क्रममा रहेको करिब १० रोपनी क्षेत्रफलमा अवस्थित उक्त मैदानमा भलिबल, बास्केटबल लगायतका अन्य खेलको कोर्ट तथा मैदानका लागि वडा कार्यालय र जिल्ला खेलकुद विकास समितिले समेत रकम बिनियोजन गरेको पनि अधिकारीले जानकारी दिए ।

पहिलो संस्करण र मैदान निर्माण सम्पन्न नभईसकेका कारण यसपटक विद्यालयको मैदानमा प्रतियोगिता सञ्चालन हुने भएपनि आगामी संस्करणहरु आफ्नै खेलमैदानमा खेलाइने प्रतियोगिताका प्रचार संयोजक ऋषिकान्त पौडेलले विश्वास ब्यक्त गरे । प्रतियोगिताको उपाधी बिजेता टोलीले नगद नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र, उप विजेता टिमलाई नगद ३० हजार रुपैयाँ, शिल्ड र मेडल प्रदान गरिने पनि पौडेलले जानकारी दिए । उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिफ्टर सहितका खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिब बताइएको छ । प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा साङ्ग्रिला रिसोर्ट प्रा.लि. र सहप्रायोजकमा बुद्ध पावर कम्पनी छ ।

प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजक कुर्लुङ्खोला खानेपानी आयोजना, पचभैया रहेको छ भने द्वितीय पुरस्कार प्रायोजकमा पचभैया सामुदायिक वन उपभोक्ता समिति, उत्कृष्ट खेलाडी पुरस्कार प्रायोजकका रुपमा सेभेनलेक्स शुद्ध पिउने पानी छ । सहयोगीका रुपमा जिल्ला खेलकुद विकास समिति, विभिन्न ब्यानरदाताहरु, वडा नंम्बर ३१ मा अवस्थित संघसंस्थाहरु छन् ।

प्रतियोगितालाई भव्य र शभ्य रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन भई सक्रीय रहेको र अहिलेसम्म मैदानलाई लोडरको सहायतामा सम्याउने, प्रचारप्रसार, टिम दर्तालगायतका कामहरु भइरहेको उक्त अवसरमा जानकारी दिइयो । मञ्चका अध्यक्ष सुनिल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेल संयोजक अधिकारी, प्रचार संयोजक पौडेल, पूर्व सचिव धनबहादुर गुरुङले आफ्ना भनाई राखेका थिए ।

You might also like

Comments are closed.