तातोपानीमा पौडी खेल्दैमा एकता हुँदैन ः वरिष्ठ नेता पौडेल

पोखरा, २६ फागुन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा नुहाउँदैमा एकता नहुने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले भावनात्मक रुपमा भने एकता नभएको स्पष्ट पारे ।
‘एकता त्यत्तिकै हुँदैन । हामी एक भयौं भन्दैमा एकता हुने होइन । तातोपानीमा पौडी खेलेर एकता हुन्छ ?, उनले भने, ‘तातोपानीमा सँगसँगै डुब्यो भन्दैमा एकता भयो भनेर प्रचार गर्नुपर्दैन ।’

पार्टी सभापति शेरबहादुर देउवा सहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा निस्किएका पौडेलले म्याग्दीको तातोपानीमा पौडी खेलेकोबारे प्रसंग जोड्दै भने, ‘भावना र एजेण्डामा एकता भएमात्र एकताको सार्थकता हुन्छ र पार्टीले गति लिन्छ ।’ पौडेलले भने, ‘केन्द्रीय समितिको पछाडि पछाडि आफू हिड्ने कि आफ्नो पछाडि हिड्ने सोबारे एजेण्डा लिएर जनतामाझ जानुपर्छ ।’
पार्टी सुधारका लागि आफूले तिथि मितिसहित महाधिवेशनको कार्यतालिका दिएको भन्दै वरिष्ठ नेता पौडेललले कार्यतालिका अनुसार महाधिवेशनको तयारी गर्न आग्रह गरे । पौडेलले सिके राउतसँग सरकारले गरेको सम्झौता पारदर्शी हुनुपर्ने बताएका छन् । देशमा हत्या, हिंसा र बलात्कारका घटना दिनहूँ बढिरहेको भन्दै उनले सरकार सबै हिसाबले फेल भैसकेको टिप्पणी गरे ।

प्रजातन्त्र र राष्ट्रियता मास्ने काम भ्रष्टाचारले गर्ने भन्दै प्रधानमन्त्री ओलीले बोलीमा सुशासनका कुरा गर्ने तर व्यवहारमा भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको आरोप लगाए ।
नेपाली काँग्रेस कास्कीले आयोजना गरेको सो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउनु राम्रो भए पनि उनीसँग भएका सहमतिका बुँदा आपत्तिजनक भएको बताए । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसका पूर्व आमन्त्रित सदस्य शुक्रराज शर्मा, प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल, युनियनका निवर्तमान अध्यक्ष शिरोमणि बराल, काँग्रेस नेतृ सरस्वती गुरुङ, पार्टीका जिल्ला उपसभापति आइबहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट लगायतले जनताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे । गत फागुन ११ गते भएको युनियनको नवौं अधिवेशनबाट सिग्देलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

You might also like

Comments are closed.