दृष्टिविहीनको घर निर्माणमा जुटे युवा

तनहुँ ११ चैत
तनहुँको व्यास नगरपालिका वडा नं १२ हुलाकी डाँडामा बसोबास गर्दै आएका कमल भुजेलको परिवारका लागि युवाहरु घर निर्माण अभियानमा जुटेका छन् । न्यु युनिटी युवा क्लबका अध्यक्ष शिव पन्थको सक्रियतामा भुजेलको घर निर्माण  गरिदैछ ।

आर्थिक रुपमा विपन्न त्यस माथि पनि परिवार नै अपांग भएको देखेपछि हामी युवाहरुले भुजेललाई घर बनाउने अभियानमा जुटेका छौँ पन्थले भने । ४ जनाको परिवार सबै कुनै न कुनै रुपमा अपांग भएकाले विगत ८ वर्ष देखी ससुरालीको आश्रममा बसेका थिए । पछि ससुरालीले जग्गा दिएर हुलाकी डाँडामा छाप्रो बनाएर गुजारा गरी रहेका भुजेल परिवारको दुख देखी केही हदसम्म भएपनि मलमपट्टी लगाउन सकिन्छ कि भन्ने उद्देश्यले युवाहरु जुटेका हौँ उनले थपे ।

कमल भुजेल २७ वर्षका भए । उनले स्पष्ट आँखा देख्दैनन् । त्यही पनि आफ्नी दृष्टिविहीन पत्नी र २ जना छोराछोरीको लालनपालन लागी ज्याला मजदुरी गर्छन् । आफ्नै भरमा मात्र ४ जनाको परिवार धान्नुपर्ने भएपछि निकै समस्या भएको कमल बताउछन् । शारिरीक रुपमा अशक्त भएपछि मानिसहरु काम दिन पनि हिच्चकिचाउछन् उनले भने । छोरीलाई स्कुल पठाउन मन छ, खुवाउन त पैसा छैन कसरी पठाउने उनले गुनासो गरे । युवाहरुको अभियानमा घर बन्ने आशमा छन कमल । युवाहरुसँगै उनी पनि दिनभर घर बनाउने काममै खटिएका छन । ढुंगा बोक्ने, वालुवा बोक्ने र अन्य आवश्यक काम उनले आफै गरीरहेका छन् ।

करिब ३ लाख ५० हजारको लागतमा २ वटा कोठा र शौचालय शौचालय सहितको भवन निर्माण गरीदिने अभियानमा जुटेको शिवले बताए । यसका लागी हामी देश तथा विदेशसम्म पनि सहयोगको याचना गरिरहेका छौँ उनले भने । स्थानीय युवा क्लबहरु तथा व्यक्तिहरुबाट पनि केही सहयोग रकम प्राप्त भएपछि युवाहरुकै सक्रियतामा घरको जग लगाउने काम समेत सुरु भइसकेको छ । थोरै थोरै सहयोग प्राप्त हुन थालेपछि घर सम्पन्न गर्न सकिन्छ भन्ने लागेको पन्थ बताउछन् ।

उनले कहिले व्यक्तिगत रुपमा त कहिले समूहमा पनि सहयोगको अपिल गरीरहेका छन् । व्यक्तिहरुलाई भेटेर तथा सामजिक सञ्जाल मार्फत पनि उनीहरुले सहयोग जुटाइ रहेको बताए । भुजेलसँग नागरिकता नहुदाँ समेत समस्या भएकाले नागरिकता बनाइदिने पहल पनि युवाहरुले गरिरहेका छन् । नागरिकता नहुदाँ अपाङ्गता भएकै कारण राज्यले प्रदान गर्दै आएको आएका सेवा सुविधा पाउनबाट उनीहरु बञ्चित भइरहेका छन् ।

घर निर्माणको लागी व्यास नगरपालिकाले ५० हजार दिने घोषणा गरेको छ । त्यस्तै स्थानीय समाजसेवी सोनाम तामाङले ३० हजार, समाजसेवी नोमा थापाले १० हजार बराबरको सिमेन्ट, दिपचन्द्र फर्निचरले घरको चौकोस, मलेसियाबाट १४हजार ६ सय र स्थानीय क्लब तथा संघसंस्थाबाट २० हजार आर्थिंक सहयोग संकलन गर्न सफल भएको पन्थले जानकारी दिए ।
भुजेलको घर निर्माणको लागी गाँउलेले एक दिन श्रमदान गर्ने निर्णय गरेका छन् । अपांग परिवारले घर नहुदाँ कति दुख पाएका थिए, हाम्रो सानो मदतले घर बन्छ भने किन नगर्ने भनेर एक÷एक दिन श्रमदान गरेको स्थानीय शान्त भुजेलले बताइन । गाँउमा एकले अर्कालाई सहयोग गनुपर्छ स्थानीय मोहन भुजेलले बताए । एकअर्काको सर–सहयोगबाटै त गाँउले जीवन चलेको हुन्छ उनले भने ।

गाँउमा लगभग ७० घर भुजेलहरु बसोबास गर्छन । त्यहाँको मानिसहरुको प्रमुख आम्दानीको स्रोत नै ज्याला मजदुरी र खेतीपाती हो । पानीको अभावले खेतीपाती पनि राम्रो नहुने मोहन भुजेलले बताए । बालबालिका स्कुल जान नमान्ने त्यहाँको प्रमुख समस्या हो । १० कक्षा पास गर्ने गाँउमा कमै भेटिन्छन् । स्कुल भएपनि बिचमै स्कुल छोडने समस्याका कारण त्यहाँ चेतनाको स्तर एकदमै कमजोर छ उनले भने । त्यहाँ बालविवाहको समस्या पनि त्यस्तै छ । सानो उमेरमै बालिकाहरु आफुँ खुशी विवाह गर्ने प्रचलनका कारण महिलाहरु सानै उमेरमा आमा बन्ने गरेको स्थानीय मोहन भुजेलले बताए ।

You might also like

Comments are closed.