नेकपा गण्डकी प्रदेशका अध्यक्ष, सचिवसहित सदस्यहरुले लिए सपथ

सन्देश श्रेष्ठ
पोखरा, २४ माघ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका पदाधिकारी तथा सदस्यहरुले सामुहिक रुपमा सपथ ग्रहण गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण पछि बनेको नेकपाको गण्डकी प्रदेश सदस्यमा चयन भएका प्रदेश पदाधिकारीसहित १८९ सदस्यहरुले विहीबार सामुहिक रुपमा सपथ लिएका हुन् ।

नेकपा कास्कीको कार्यालयमा विहीबार आयोजित सपथ कार्यक्रममा नेकपा गण्डकी प्रदेश ईञ्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे (उत्तम) र सचिव गोविन्दबहादुर नेपाली तथा १८७ जना सदस्यसहित १८९ जनालाई सपथग्रहण गराएका हुन् । सपथ ग्रहणपछि ईञ्चार्ज गुरुङले सपथ ग्रहण लिएका पदाधिकारी तथा सदस्यहरुलाई खादा लगाएर बधाईसहित कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपा गण्डकी प्रदेशका ईञ्चार्ज पृथ्वी सुब्बा गुरुङले पार्टीकै नेतृत्वमा सरकारले समृद्धी र समाजवाद ल्याउने बताए । पार्टी मजबुत नभएसम्म सरकार बलियो नहुने बताउँदै उनले भने,‘सरकार चलाउने पार्टीले नै हो, अनि समाज र समृद्धीको सपना पूरा गर्ने नेतृत्व पनि पार्टीले नै गर्नुपर्छ, यसका लागि पार्टी मजबुत हुनुपर्छ ।’

नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे (उत्तम)ले सामुहिक भावनामा पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाए । कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य देव गुरुङ लगायतलेपनि बोलेका थिए ।

नेकपा गण्डकी प्रदेशले जनयुद्ध दिवस मनाउने

नेकपा गण्डकी प्रदेशले जनयुद्ध दिवस मनाउने भएको छ । विहीबार सपथ खाएलगत्तै बसेको नव गठित नेकपा गण्डकी प्रदेशको बैठकले तत्कालिन नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध शुरु गरेको दिन फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको हो । बैठकमा सहभागि एक बरिष्ठ सदस्यले भने,‘जनयुद्ध दिवसलाई भव्य रुपमा मनाउने निर्णय भएको छ, तर कहाँ र कसरी मनाउने बारे पदाधिकारी बैठकले तय गर्न बैठकले जिम्मेवारी दिएको छ ।’ उनले जनयुद्ध दिवस मनाउने निर्णयले पार्टी एकताको मर्म, भावना र स्पिरिटलाई ससम्मान समातेको बताए ।

त्यस्तै बैठकले स्ववियु चुनावलाई आफ्नो पक्षमा पार्नका लागि जिल्ला जिल्लामा गएर माहोल सृजना सदस्यहरुलाई निर्देशन दिएको छ भने पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सदस्यहरुलाई जिल्ला कमिटी निर्माणका लागि अनुकुल वातावरण निर्माण गर्नका लागि खटिन पनि निर्देशन दिएको श्रोतले बताएको छ ।

You might also like

Comments are closed.