पर्यटन प्रवद्र्धन पहिलो प्राथमिकता बन्नुपर्छ : अर्जुन पोखरेल

अर्जुन पोखरेल
उपमहासचिव
पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघले वर्षेनी राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजना गरिरहँदा पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिन जरुरी छ । पर्यटनको विकास बिना समग्र पोखराको विकासको कल्पना गर्न सकिँदैन । पोखरा पर्यटकीय हवका रुपमा विकसित भइरहेको छ । अब हामीले पर्यटन प्रवद्र्धनमार्फत पोखरा आउने पर्यटकको संख्या बढाउन जरुरी छ । पोखरा र आसपासका ग्रामीण क्षेत्र तथा छिमेकी जिल्लाहरुलाई समेत साथमा लिएर पोखरामा पर्यटनको विकास गर्नुपर्छ । तीन चरणको निर्वाचन सम्पन्न भएर स्थिर सरकार बन्नेतर्फ मुलुक अगाडि बढिरहेको परिवेशमा हामीले समृद्धिको आशा गरिरहेका छौं । प्रदेश ४ को समृद्धिका लागि पनि पर्यटन पहिलो प्राथमिकतामा पर्नुपर्छ ।

हामीले मेलामा पर्यटन गतिविधिलाई प्राथमिकतामा राख्दै आइरहेका छौं । मेला वर्षेनी सफल भइरहेको छ । मेलाको सफलताले नै स्पोन्सर गर्न चाहनेको संख्या पनि बढिरहेको छ । मेलामा हामीले स्टलको व्यवस्थापन बिशेष किसिमले गरेका छौं । पर्यटन, कृषि, घरेलु उद्योग, हस्तकला लगायतलाई विशेष प्राथमिकतामा राखेका छौं । पोखरा तथा नेपालको पर्यटन प्रवद्र्धनको लागि नेपाली सामानहरु स्टलमा राखिएका छन्् । सिजन राम्रो भएकाले पनि मेला अहिलेसम्मकै हाम्रो हुने हामीले अपेक्षा गरेका छौं । करिव २ लाख दर्शक भित्र्याउने हाम्रो लक्ष्य छ ।

पोखराबाट नजिक रहेको र आफू जन्मेको ठाउँ भएकाले मैले मट्टीखानलाई विशेष प्राथमिकतामा राखेको छु । म लगायत स्थानीय साथीहरुको लगानीमा मट्टीखानमा स्तरीय होटल समेत सञ्चालनमा ल्याइसकेका छौं । पर्यटन प्रवद्र्धनमा यसले महत्वपूर्ण भुमिका खेल्नेछ । एउटाले शुरुवात नगरी विकासका गतिविधि अगाडि नबढ्ने हँुदा मैले यसलाई शुरुवात गरेको हो । बिगत केही वर्ष अगाडिबाट मैले रिसोर्ट संचालन गरेको हो जुन अहिले राम्रो भएको छ । पोखरा उद्योग वाणिज्य संघमा छिरेपछि केही नयाँ गर्नुपर्छ भन्ने सोच आएको छ । युवा उद्यमी मंचमा पनि आवद्ध भएको हुनाले रोजगारीको सृजनासँगै गाउँको विकास पनि हुने तथा ग्रामीण कृषि उत्पादन तथा पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्ने हुनाले पनि म पर्यटन व्यवसायमा संलग्न भएको हुँ । त्यहाँ पुग्नको लागि नगर बस पनि संचालनमा आएका छन् । केही समय पहिलेसम्म यो ठाउँ ओझेलमा परेको थियो । अहिले भ्यु टावर बनेको छ । दर्शन गर्नको लागि मन्दिर पनि छ । गोरखा स्मारकको निर्माण कार्य भइरहेको छ । जंगलको बिचमा रिसोर्ट छ । पर्यटकलाई समय विताउन उपयुक्त स्थान बनेको छ ।

You might also like

Comments are closed.