फेदिखोला गाउँपालिकामा युवा उद्यम कार्यक्रम

आर्थिक आवाज
स्याङजा । स्याङ्जाको फेदिखोला गाउँपालिका र नेपाल सरकारको सर्सत सहयोगमा गाउँपालिकामा युवा उद्यम कार्यक्रम सञ्चालनमा आएको छ । गाउँपालिकामा रहेका युवा जनशक्तिलाई परिचालित गरि उनीहरुलाई उद्यमशील बनाउने र उनीहरुकै माध्यमबाट रोजगार सिर्जना गर्ने उद्देश्य बमोजिम गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

‘गाउँपालिकामा कोही पनि बेरोजगार बस्न नपरोस साथै उद्यमशिलताको भरपुर उपयोग होस भन्ने उद्देश्यले हामीले यो कार्यक्रमलाई विशेष प्राथमिकताका साथ संचालनमा ल्याएका हौं,’ कार्यक्रमको उद्घाटनका अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले भने । युवा उद्यम कार्यक्रमबाट ३ वटा समूहका ३० जना व्यवसायी बनिसकेको उनले बताए । ३० जनाको उद्यमशीलताले ३ सय, ३ हजार हुँदै हजारौं युवालाई रोजगार प्रदान हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रम अन्तर्गत वडा नं. १, २ र ४ का ३ वटा समूह जनजागृत युवा कृषि समूह, प्रगतिशलि युवा समूह, महाउद्यमी युवा समूहलाई उद्यम सञ्चालनार्थ ५ वर्षसम्म बिना ब्याज ५ लाख प्रदान गरिएको छ । कार्यक्रमका लागि आवेदन परेका १२ समूह मध्य छनोट भएका जनजागृतले कागती खेती, प्रगतिशीलले कुखुरा पालन र महाउद्यमीले बेकरी उद्योग चलाउनेछन् । प्रत्येक समूहमा १६ देखि ४० वर्षभित्रका १० जना सदस्यको सहभागिता छ ।

समूहलाई पहिलो किस्ता मार्फत ५० प्रतिशत रकम र उद्यमको कार्यप्रगतिको आधारमा बाँकी ५० प्रतिशत रकम स्थलगत अनुगमन पछि प्रदान गरिने सुवेदीले बताए । समूहले प्राप्त रकम एक वर्षसम्म पूर्णरुपमा परिचालन गर्न पाउने र दोस्रो वर्ष दश प्रतिशत, तेस्रो वर्ष बीस प्रतिशत, चौथो वर्ष तीस प्रतिशत र पाँचौ वर्ष चालिस प्रतिशत रकम युवा उद्यम विकास घुम्ती कोष खातामा फिर्ता गर्नुपर्नेछ ।

साथै गुणस्तर एवं परिणाममा कार्यसम्पन्न नगरेमा वा बजेट हिनामिना गरेमा रकम असुलउपर गर्ने, सदस्यलाई कालो सुचिमा राख्ने तथा गाउँपालिकाका सेवा सुविधाबाट वञ्चित गराइने जनाइएको छ ।

कार्यक्रममा बोल्दै महाउद्यमी युवा समूहका अध्यक्ष डिल बहादुर क्षत्रीले गाउँपालिकाले गरेको सहयोगप्रति आभार प्रकट गर्दै सहयोगको उचित सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाको अभिभावकत्वलाई भरपुर उपयोग गर्दै रोजगार सिर्जना र उद्यमशीलतामा आफ्नो समुूह कटिबद्ध भएर अगाडि बढ्ने बताए । कार्यक्रममा फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापा, प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मा, वडा नं. १ का अध्यक्ष खिम बहादुर क्षत्रीले, वडा नं. २ का अध्यक्ष हिमालयजंग बाँनिया, रोजगार संयोजक रुपक बरालको सहभागिता थियो ।

You might also like

Comments are closed.