आर्थिक आवाज
लेखनाथ ,१५ पुस । लक्ष्य भन्दा बढी सफलता प्राप्त गरेपछि लेखनाथ महोत्सवका आयोजकहरु उत्साही भएका छन् । महोत्सव पुस १६ गते सोमबार समापन हुँदैछ । समापन अगाडि नै लक्ष्यभन्दा बढी सफलता प्राप्त गर्न सफल भएको आयोजक संंस्था लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भतरकुमार अधिकारीले बताए ।
महोत्सव समापन हुन एक दिन अगाडि नै आयोजकले शुरुमा राखेको लक्ष्य प्राप्त भएको आइतबार सम्मको आर्थिक कारोवारले प्रष्ट पारेको संघका अध्यक्ष कृष्णहरि भण्डारीले बताए । ‘शुरुमा हामीले महोत्सव अवधिभर तीन लाख दर्शक र १५ करोड बरावरको आर्थिक कारोवार हुने अनुमान गरेका थियौं,’ उनले भने, ‘तर त्यो अनुमान समापन पूर्व नै पुगेकाले बिगतका महोत्सव भन्दा पनि यस वर्षको महोत्सवले नयाँ कृतिमान राख्न सफल भएको छ ।’
महोत्सवको ११औं दिन पनि यस प्रदेशमा सार्वजनिक विदा परेकाले आइतबार करिव ४० हजार दर्शकले मेलाको अवलोकन गरेको बताइएको छ । हालसम्म तीन लाख ४० हजार दर्शकले मेलाको अवलोकन गरिसकेका प्रचारप्रसार उपसमितिका संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए ।
आइतबार मात्र दुई करोड बरावरको आर्थिक कारोबार भएको र हालसम्म करिब १७ करोड रुपैयाँ बराबरको कारोबर भइसकेको संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए । महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवको थप आकर्षका रुपमा रहेको रत्यौली गीत प्रतियोगितामा र महोत्सवको मुख्य आकर्षणको रुपमा रहेको खोजी अभियान अन्तर्गत गायन विधाको गण्डकी तारा प्रतियोगिताको घोषणा सोमबार समापनका दिन हुने संयोजक मेनुका श्रेष्ठ र ऋषिराम जमरकट्टेलले जानकारी दिए । १२ दिनसम्म चलेको महोत्सवको समापन सोमबार महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गर्ने महासचिव अधिकारीले जानकारी दिए ।
Comments are closed.