लेखनाथ र झापाबीच पर्यटनमा सहकार्य गर्ने सहमति

झापा, २१ चैत

कास्कीको लेखनाथ र झापाका पर्यटन व्यवसायी बिच पर्यटन व्यवसायमा सहकार्य गर्ने सहमति भएको छ । ‘गन्तव्य बेगनास’को अभियान लिएर पूर्व भ्रमणमा पुगेको होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथ र झापा होटल एसोसियसनबीच पर्यटनमा सहकार्य गर्ने सम्झौता भएको हो । पर्यटनसँग सम्बन्धित ६ बुँदे सम्झौतामा होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिना र झापा होटल एसोसियसनका अध्यक्ष भोला उप्रेतीले हस्ताक्षर गरे ।

लेखनाथ र झापाका पर्यटन व्यवसायीले दुवैतर्फका पर्यटकलाई एक अर्काकोमा जाँदा १५ प्रतिशत छुट दिने सहमति भएको छ । सहमति अनुसार अब झापाको पर्यटक कास्कीको लेखनाथमा आउँदा र लेखनाथका पर्यटक झापामा जाँदा १५ प्रतिशत छुट दिइनेछ । दुबैतर्फका होटल तथा रेष्टुरेण्टमा पर्यटकलाई खाना, खाजा र बासमा विशेष छुट दिन सहमति भएको होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

त्यस्तै सम्झौता अनुसार दुबै स्थानका पर्यटन व्यवसायीहरु एक अर्को सहरमा बार्षिक रुपमा भ्रमण र प्रचारात्मक अभियान सञ्चालन गरिनेछ । यसले एक अर्काको ठाउँको बारेमा बुझ्ने, बुझाउने व्यवसायको प्रचारप्रसारमा सघाउने एसोसियसन लेखनाथका निवर्तमान अध्यक्ष दामोदरभक्त थापाले बताए ।

यसैगरी एक अर्काका क्षेत्रको व्यवसायीक विकास तथा पर्यटन प्रवद्र्धनका लागि संयुक्त प्रयास गर्ने, बेगनासमा आउने पर्यटकलाई झापा जान र झापामा पुग्ने पर्यटकलाई बेगनास तथा रुपा क्षेत्रमा जानका लागि सिफारिस गर्ने र सरकारको नेपाल भ्रमण वर्ष २०२० र गण्डकी प्रदेशको आन्तरिक पर्यटन वर्षलाई सफल बनाउनका लागि भूमिका खेल्ने सम्झौता पत्रमा उल्लेख छ ।

सम्झौता पर्यटनको विकास र बिस्तारमा कोशेढुंगा सावित हुने एसोसियसनका पूर्व अध्यक्ष दुर्गाप्रसाद अधिकारीले बताए । सम्झौताले पोखरा आउने पर्यटकको बसाई अवधीसमेत लम्बिने उनको दाबी छ ।

झापा होटल एसोसियसनका अध्यक्ष भोला उप्रेतीले सम्झौताले समग्रमा गण्डकी प्रदेश र प्रदेश नम्बर १ को पर्यटन प्रवद्धनमा सघाउ पुग्ने बताए । उनले भने,‘देशकै पर्यटकीय हव पोखरा बेगनास क्षेत्रमा झापाको बारेमा जानकारी दिने र पोखराको बारेमा झापाका व्यवसायीले जानकारी दिने अनि विभिन्न कार्यक्रम गर्दा स्वभाविक पर्यटकीय गतिविधि बढ्नेछन्, ।’

पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रवन्धक सूर्य थपलियाले सहमति अनुसार सम्झौता कार्यान्वयनमा गए दुबैतर्फका पर्यटन व्यवसायीलाई फाइदा हुने बताए । उनले यो सम्झौताले समग्र पर्यटनको विकाससँगै गण्डकी प्रदेश र नेपाल सरकारको पर्यटन वर्ष सफल बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

You might also like

Comments are closed.