सदस्यहरुको कुरा सुन्दै पोउवा संघ

पोखरा, २३ पुस । सदस्यहरुसँग सुझाव माग्ने क्रममा पोखरा उद्योग वाणिज्य संघले चिप्लेढुङ्गा र बिरौटामा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले उद्योगी÷व्यवसायीहरुको हितको लागि संघबाट सम्पादित गतिविधीबारे जानकारी दिए । व्यवसायीहरुले दिएको सुझावकै आधारमा संघका गतिबिधीहरु अगाडि बढाइने जनाउँदै उनले विकास निर्माणका कामहरुमा समेत संघले सहयोग र पैरवी गर्दै आइरहेको बताए । उनले घरभाडाको समस्या राष्ट्रिय भएको चर्चा गर्दै यसको निराकरणको लागि निरन्तर आवाज उठाउँदै आएको बताए
चिप्लेढुंगामा आयोजित कार्यक्रममा आफ्ना धारणा राख्दै संघका सदस्य रमेश सापकोटाले लोपोन्मुख व्यवसायलाई संरक्षण गर्न संघले पहल गर्नुपर्ने सुभाव दिए । अर्का सदस्य नविन नापितले पोके व्यापारी नियन्त्रणको लागि संघले कडा कदम चाल्नुपर्नेमा जोड दिए ।

यसैगरी, केशवबहादुर खत्रीले कर प्रशासनबाट हुने अनावश्यक झमेलालाई कम गर्न संघले पहलकदमी गर्नुपर्ने बताए । सदस्य बलराम गौतमले यही पुस २७ बाट माघ ८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा आयोजना हुने सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेलाको सफलताको शुभकामना व्यक्त गर्दै त्यहाँ कर तिरेका व्यवसायीले मात्र स्टल राख्ने व्यवस्था हुनुपर्ने बताए । अर्का सदस्य जनकराज सुवेदीले संघले संचालनमा ल्याएको जब सेण्टरमा काम खोज्न आउनेहरुलाई सीपको आधारमा बर्गिकरण गर्नुपर्ने सुझाव दिए । सदस्य नवराज त्रिपाठीले व्यापार मेला सफल बनाउन आफ्नोतर्फबाट पनि सहयोग गर्ने बताए । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन महासचिव दामु अधिकारीले गरेका थिए ।

यसैगरी, बिरौटामा आयोजित कार्यक्रममा बोल्दै खेमराज पौडेलले पोखराको अव्यवस्थालाई समाधान गर्न संघले पहलकदमी गर्नुपर्नेमा जोड दिए । अर्का व्यवसायी गोविन्दप्रसाद पाण्डेले व्यापार मेलाको बेला रातीसम्म नगरबस संचालनको व्यवस्था हुनुपर्ने बताए । यसैगरी राजु पौडेलले सोलार लाइटको मर्मत, पोके व्यापारी नियन्त्रणको लागि संघले पहल गर्नुपर्ने सुझाव दिए । कमलप्रसाद न्यौपानेले चर्को घरभाडाको मारमा परेका व्यवसायीको पक्षमा उभिनको लागि संघसँग आग्रह गरे । संघका सदस्य धनीराम बरालले मेला अवधीमा सुरक्षा व्यवस्था कडा हुनुपर्ने बताए । शम्भुनाथ योगीले व्यापार मेलामा स्थानीय उत्पादनहरुलाई बढी महत्व दिइनुपर्ने उल्लेख गरे । डिलबहादुर गुरुङले संघले गरेका कामहरुको मुक्तकण्ठले प्रशंसा गर्दै निरन्तरताको कामना गरे । संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन महासचिव दामु अधिकारीले गरेका थिए ।

You might also like

Comments are closed.