काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले असोज मसान्तभित्र बुझाउनुपर्ने रकम मङ्सिर मसान्तसम्म भुक्तानी गर्न पाउने व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरेको छ । हाल देशमा विद्यमान अस्थिर परिस्थितिको प्रत्यक्ष असर उद्योगी, व्यवसायी तथा व्यापारी वर्गमा परेकाले संघले एक विज्ञप्ती जारी गर्दै दुई महिनाको म्याद थप गरी भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, “गत आर्थिक वर्षको असार मसान्तसम्मका नियमित ग्राहकको हकमा मात्र लागू हुने गरी चालु आर्थिक वर्षको असोज मसान्तभित्र बुझाउनुपर्ने रकमलाई एक पटकका लागि दुई महिनाभित्र (मङ्सिर मसान्तसम्म) भुक्तानी गर्न पाउने वा सो बराबर थप कर्जा सुविधा दिई हिसाब मिलान गर्न पाउने व्यवस्था गरिदिन हाम्रो आग्रह छ ।”
यसो भएमा हाल उत्पन्न परिस्थितिबाट प्रभावित उद्योगी, व्यवसायी तथा सम्पूर्ण ऋणीलाई तत्काल राहत मिल्ने र समग्र आर्थिक स्थायित्वमा पनि सकारात्मक प्रभाव पार्ने संघले उल्लेख गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासको पछिल्लो पुरा एक महिना देशका विभिन्न भागमा भएका आन्दोलन, विरोध प्रदर्शन, आगजनी तथा तोडफोडका घटनाहरू र त्यसपछि आएको बेमौसमी वर्षा, बाढी, पहिरो, भूस्खलन जस्ता दैवी प्रकोपले समग्र औद्योगिक, व्यापारिक र सेवा क्षेत्रमा गम्भीर असर पारेका छन् ।
यी कारणले बजारमा नगद प्रवाहमा आएको कमी, बक्यौता सङ्कलनमा गिरावट र लगानीकर्ता तथा उपभोक्ताको मनोबलमा आएको नकारात्मक प्रभावले उद्योगी तथा व्यवसायीमा समस्या थपिएको छ । चाडपर्व पनि छिटो पर्न जानु, असोज मसान्तभित्र दुई महिनाको तलब, दशैं खर्च, बैंक व्याज र साँवा, चालु पूँजी कर्जाको किस्ता, कर तथा राजश्व बुझाउनुपर्ने बाध्यताका कारण व्यवसायीहरु थप आर्थिक दबाबमा परेका छन् । यसलाई ध्यानमा राखी दुई महिनाको समय थप गरिदिन सरकारसँग संघको माग छ ।
Comments are closed.