आत्मबल बलियो त कोरोना हल्लियो

रीना पौडेल

जोसंग पुँजी बचत छ, उसको घरमा मीठा–मीठा परिकारहरु बनेका फोटा फेसबुकमा देखिन्छ । कतिबेला लाग्छ कुनैकुनै परिवारबीच ठूलो प्रतिस्पर्धा चलेको छ, कसकोमा आज के नयाँ र आकर्षक खाना बन्नेछ । अलिकति यसमा पनि विचार पुर्याऔं कि, तपाईंको घर नजिकै पक्का पनि कोही न कोही दुई चार जना परिवार यस्ता छन् कि, उनीहरुलाई दुबै छाक खान पुगेको छैन ।

अहिले मलाई प्रेम परियारले गाएको नाइ नभन्नु ल २ को एउटा गीत याद आइरहेको छ, ‘मर्ने कसैलाई रहर हुँदैन । तर, नमरेको प्रहर हुँदैन । भागेर जाउँ कुन ठाउँ जाउँ ? मान्छे नमर्ने सहर हुँदैन ।’

हो, मृत्यु निश्चित छ । तर, हरेक मानिसलाई सबै भन्दा बढी डर मर्नबाट लाग्दो रहेछ । अहिले संसार कोरोना भाइरसबाट आक्रान्त भएको बेला छ । यसको असर दुबै किसिमको छ । यसलाई कसैले भाग्य बनाएका छन् । त कोहीले दुर्भाग्य । जीवन भनेकै उतार चढावको पढाव त हो । यो सधैं एकैनास कहिले थिएन, छैन र हँुदैन पनि । अब यस समयलाई के बनाउने तपाईं कै हातमा छ । तपाईंकै सोचमा निर्भर छ ।

अहिले आफूलाई मानसिक रुपले यस रोगसंग लड्ने क्षमताको विकास गर्न एक हातमा आत्मा र अर्को हातमा बल लिएर दुबै हात जोड्दै आत्मबल बलियो गराउन सक्छौं । यो समय अस्पताल धाउन अनुकुल छैन । हामीले आत्मबल बलियो बनाएर घरमै बस्यौं भने हाम्रो भान्सा कै हर्रो बर्रो, ज्वानो, बेसार, मरहठी, लसुन, अदुवा, कागती जस्ता चीजले हाम्रो रोग प्रतिरोध क्षमता बढाई सामान्य रोग निको पार्न सक्छ । यस समयले सहयोगी भावनाको विकास पनि गरेको छ । २०७२ को भूकम्पमा जस्तै पहाडीलाई मधेसको सहयोग थियो त्यसैगरी अहिले दुई समुदायका हुनेखाने र हुँदाखानेबीच सहयोग बढेको छ । हुनेखानेले हँुदाखाने समूहलाई कमसेकम पेटको भोक मार्न सक्ने खानाको व्यवस्था गरेको देखिएको छ ।

यसैबीच कतिपय नेपाली जो नेपाल बाहिर बसेर परिवार पाल्न कमाई गर्दै आएका थिए उनीहरु त्यहीं बसौं वा नेपाल फर्कौं ? को स्थितिमा पुगेका छन् । यस लेखबाट म सबैमा अनुरोध गर्दछु, कोरोना भाइरसका डरले होइन बरु यो प्रतिकूल समय र परिस्थितिलाई हेर्दैं कृपया तपाईंहरु जहाँ हुनुहुन्छ त्यहीं धैर्यधारण गरेर बस्नुस् । कुनै पनि चीज अटल हुँदैन । एक दिन यो कोरोना भाइरसको पनि उपचार भइछाड्नेछ । जन्मदा हाँस्ने, खुशी हुने र मर्दा दुःख लाग्नु स्वभाविक हो । तर यस जन्म र मृत्युको बीचको समयलाई व्यवस्थापन गर्ने कलालाई नै जीवन जिउने कला भनिन्छ । यस कलाको प्रयोग गर्नुहोस् । घरमै बसेर गर्न सकिने कतिपय कामहरु बाँकी होलान् तिनीहरुलाई पूरा गर्नुहोस् । बाहिर मुलुकका महिलाहरु घरबाटै अनलाइन काम गरेर आयआर्जन गरेका छन् । नेपालमा पनि इन्टरनेटको सुबिधा राम्रो छ । यस सुबिधाको सदुपयोग गर्न जान्नुपर्छ । हामी केवल केही अडियो तथा भिडियो कलहरु गर्न, फेसबुक, युट्युबका भिडियो हेर्न मात्र समय खेर फालेका छौं । हामी बुझ्न जरुरी छ कि आकाश असीमित छ । आफ्नो टाउको माथिको नीलो भाग मात्र आकाश भन्ने ठानेका हामी क्षितीजसम्म दृष्टि लगाउन सकौं । आफ्नो दायरा बढाउन सकौं ।

यस कठीन परिस्थितिमा आर्थिक अभाव सुरु हुन थालिसकेको होला । जोसंग बचत पुँजी छ उसको घरमा मीठामीठा परिकारहरु बनेका फोटा फेसबुकमा देखिन्छ । कतिबेला लाग्छ कुनैकुनै परिवारहरुबीच ठूलो प्रतिस्पर्धा चलेको छ । कस कहाँ आज के नयाँ र आकर्षक खाना बन्नेछ । अलिकति यसमा पनि विचार पुर्याऔं कि, तपाईंको घर नजिकै पक्का पनि कोही न कोही दुई चार जना परिवार यस्ता छन् कि, उनीहरुलाई दुबै छाक खान पुगेको छैन । यस्ता परिवार खोजी तपाईंको घरमा बनेको खानाको केही अंश उनीहरुको लागि पठाउनुस् र खुवाउनुस् । यस कामबाट तपाईंलाई आत्म सन्तुष्टिका साथ उनीहरुको आशिर्वादले तपाईंको ढुकुटी अझ भरिने छ । लकडाउनमा तपाईंले गरेका काम तपाईंको जिन्दगीको सबैभन्दा महत्वपूर्ण कसरी हुन सक्लान् ? यसबारेमा सोच्नुस् । मैले पनि आफ्ना परिवारसंग समय पर्याप्त बिताउन सकें । मैले पुरा परिवारको मनस्थिति बुझ्न सकें । मेरा चाहना उहाँहरुसंग साट्ने तथा उहाँहरुका चाहना बुझ्ने गर्न सकें । जसले हाम्रो बीचमा आत्मियता बढ्न गयो ।

हामीले आत्मबल बलियो बनाएर घरमै बस्यौं भने हाम्रो भान्सा कै हर्रो बर्रो, ज्वानो, बेसार, मरहठी, लसुन, अदुवा, कागती जस्ता चीजले हाम्रो रोग प्रतिरोध क्षमता बढाई सामान्य रोग निको पार्न सक्छ ।

सुरुवात राम्रो भए अन्त पनि अवश्य राम्रो हुनेछ । यो लकडाउनले अर्को पाठ सिकाएको छ । नेपालकै नदीहरु सफा भएका छन् । फोहोर भएका सडकहरु सफा भएका छन् । सडक छेउका बोटबिरुवा हरिया तथा सफा भएका छन् । मानिसले वातावरणीय शुद्धतालाई सदाका लागि यथास्थितिमा राख्न जरुरी छ । हामीले चाहेमा सफा हँुदो पनि रहेछ भन्ने शिक्षासमेत पायौं ।

मानिसले यो पनि बुझ्न जरुरी छ कि, हामी कति आवश्यकताले र कति अनावश्यक हिडडुल गर्ने गरेका रहेछौं । हामीले इन्धनको बचत गर्यौं भने यसको मूल्य घट्दो रहेछ । अब त्यसलाई पनि सीमित गराउन जरुरी छ । हाम्रा खर्चहरु कति आवश्यक छन् र कति अनावश्यक छन् भन्ने बुझ्न सक्यौं । खर्च गर्न र जोगाउन दुबै सजिलै सकिंदो रहेछ भनेर सिक्न सक्यौं र बचत गर्न जरुरी रहेछ भन्ने पनि बुझ्यौं । हामी अहिले नाइट क्लब नगएर पनि रमाइलो संसार बाच्न सकेका छौं भने त्यो खर्च र समय परिवारलाई दिन सकिने रहेछ । कतिपय विद्यालयले अनलान कक्षा सञ्चालन गरेका छन् । अब यो सधैं गर्ने हो भने कुनै कारणले विद्यालय जान नसकेका विद्यार्थीले घरमै बसेर कक्षा लिन सक्दा रहेछन् । यो अनलाइन कक्षालाई मान्यता दिएर विद्यार्थीको हाजिरी मान्न सकिदो रहेछ । यो महामारीले सिकाएको अर्को पाठ सानोमा सुन्ने गरेका थियौं कि मरेपछि मलामी पनि नपाउलास् । किन भनिएको रहेछ बल्ल बुझिदैछ, यदि हाम्रो कर्म यस्तै भाइरस जस्तो दुःख दिने भयो भने मलामी पनि न पाइदो रहेछ । मरेका मानिसहरुलाई मलामीले नछोएको होइन कोरोना भाइरसलाई हो मानिसले नछोएको । त्यसैले हामीले खराब भाइरस लाग्न दिनु नहुने रहेछ । चाहे शरिरमा वा मस्तिष्कमा । यो कोरोना भाइरसले जति हामीलाई हानी नोक्सानी पुर्याउला त्यो भन्दा बढी हामी यसका बारेमा सोचेर आफैलाई नोक्सानी पुर्याएका छौं । यसबाट त्यती पनि नडराऔं ।

जे होओस सरकारले लगाएको नियमको पालना सबैले गरौं । यस रोगलाई जित्न घरमै बस्नुपर्ने रहेछ । के थाहा कहाँबाट कसको माध्यमबाट भाइरस तपाईसंग आइलाग्छ ? संसार भरी मानिस मरिरहेका छन् । जो मरिरहेका छन् उनीहरुको आफन्तलाई कति पीडा भएको होला ? आफ्ना मानिस गुमाउनुको पीडा त मलाई भन्दा बढी कसलाई थाहा होला र ? त्यसैले अरुको दुःखमा पनि दुखी हुन सकौं । आफ्नो शरीरको रोग प्रतिरोध क्षमता बढाऔं । सफा रहौं । आफू बाचौं र अरुलाई पनि बाँच्न दिऔं । आफूलाई कसरी व्यवस्थित गर्ने तपाईं कै हातमा छ । सबैलाई सहयोग गरेर समय सदुपयोग गरौं ।

लेखक कृष्टल मण्टेश्वरी पोखराका म्यानेजिङ डाइरेक्टर हुन् ।

reenapoudel05@gmail.com

You might also like

Comments are closed.