के निषेधाज्ञा नै अहिलेको समस्याको समाधान हो ?

ध्रुव थापा

पोखरा महानगरपालिकाको बैठकले पोखरा उपत्यकामा भदौ ३ गतेदेखि शुरु गरेको निशेधाज्ञा पुन थपिएको छ । भदौं १२ गतेसम्मको लागि निशेधाज्ञा थपिएको कुरा विभिन्न समाचार माध्यम मार्फत सुन्नमा आइरहेको छ । यस सम्बन्धमा पोखरा महानगरपालिकाका मेयर तथा सो निर्णय लिन सुझाउने विभिन्न दलका नेताहरुलाई मेरो केही प्रश्न छन् ः

के अब फेरि लकडाउन गरे पछि यो कोरोना संक्रमणको पूर्णत अन्त्य हुन्छ ?

हुन्छ भने कति समयमा हुन्छ ? हप्ता, पन्ध्र दिन, १ महिना वा ६ महिनासम्ममा ?

त्यसैले अब लकडाउन कति दिन वा महिनासम्म गर्नुहुन्छ, अनि त्यसपछि पनि नियन्त्रण भएन भने के गर्नुहुन्छ ?

यदि यसको उत्तर यहाँहरुसँग छैन भने यहाँहरुलाई जनताहरुलाई यसरी समय समयमा बन्दी बनाइराख्ने अधिकार पनि छैन कि ?

कोरोना नियन्त्रणका लागि सबै भन्दा बढी जोड्तोडले लागेको तर सबैभन्दा बढि असफल पनि भइराखेको ज्वलन्त उदाहरण हाम्रै छिमेकी देश भारत छ । जुन देशका नेताहरुसँग हाम्रा नेपालका नेताहरुको सम्पूर्ण आनिबानीदेखि काम गर्ने तौर तरिकासम्म ठ्याक्कै मिल्छ । नेतालाई मात्र दोष पनि छैन त्यहाँका जनताको बानी ब्यहोरा र यहाँ हामीहरुको बानीब्यहोरा पनि कत्ती फरक छैन भन्दा हुन्छ ।

यसै सन्दर्भमा केही समय अघिसम्म त्यहाँको केन्द्र सरकारले झन्डै चार महिनासम्म देशब्यापी पूर्ण लकडाउन गर्यो । तर, त्यो गर्दा पनि कोरोना नियन्त्रणमा नभएपछि तथा नागरिकहरुको व्यापक जनदबाब पश्चात केन्द्र सरकारले प्रान्त तथा स्थानीय निकायलाई नै आफ्नो क्षेत्रमा परिस्थिति हेरेर लकडाउन गर्ने, नगर्ने वा अन्य उपाय अपनाउन सक्ने भन्दै अधिकार प्रत्यायोजन गर्दै उक्त देशव्यापी लकडाउन खुल्ला ग¥यो । केही समय अघि नेपाल सरकारले गरे जस्तै । सोही बमोजिम आफ्नो अधिकारको पालना गर्दै त्यहाँका केही शहर तथा प्रान्त सरकारहरुले आ–आफ्ना नियमहरु बनाएर तत्कालैबाट नै बजार पूर्ण खुल्ला गरे भने केही प्रान्तीय सरकारले आफ्नो क्षेत्रमा परेका ठुला शहर तथा स्थानीय क्षेत्रमा निषेधाज्ञालाई कायम नै राखे । तर, कोरोना नियन्त्रणमा कत्ती पनि सकारात्मक नतिजा प्राप्त भएन । उनटो उक्त क्षेत्रको आर्थिक अवस्थामा नराम्रो धक्का लाग्न थाल्यो । ततपश्चात अहिले ती सरकारहरुले पनि उक्त निषेधाज्ञालाई धमाधम फिर्ता लिदैं बजार खोल्न थालेका छन् ।

अहिले हामी नेपालमा ठ्याक्कै भारतका केही प्रान्तले गरे जस्तै गर्न जादैछौं । जुन आर्थिक र सामाजिक दुबै क्षेत्रमा प्रत्युत्पादक हुने निश्चित छ । मलाई लाग्छ, हाम्रा केही नेताहरुदेखि लिएर सरकारमा बस्ने जिम्मेवार व्यक्तिहरुलाई अझै पनि यो महामारीलाई नियन्त्रण गर्न लकडाउन नै उत्तम बिकल्प हो र यही उपाय अपनाउनु पर्छ भन्ने लागिराखेको छ । जुन सिधा रुपमा सोच्दा त सबैलाई त्यस्तै लाग्छ । तर, वास्तविकता त त्यो नरहेछ भनेर संसारमा धेरै उदाहरण देखिएको छ । जस्तै, युरोप तथा अष्ट्रेलियालाई हेर्न सकिन्छ । जहाँ लगभग नियन्त्रणमा आइसकेको महामारी अहिले फेरि व्यापक रुपमा फैलिन थालिसकेको छ । जबसम्म नागरिक तहमा नै सजगता जागृत हुँदैन त्यो बेलासम्म जस्तोसुकै निषेधाज्ञा जारी गरे पनि केही असर पर्नेवाला छैन । कि त लकडाउन गर्ने नै हो भने चाइनाले बुहानमा गरे जस्तै गर्न सक्नुप¥यो । पूर्णरुपमा निषेधाज्ञा, सबैलाई घर भित्रै बस्न कडा आदेश अनि सबैलाई घरघर मै अत्यावश्यक सरसामान महानगरपालिकाले नै पु¥यााइदिने वयवस्था । तर, त्यो गरे पनि कोरोनाको भ्याक्सिन वा औषधि नेपाल नआइपुग्दासम्म सचेत हुनैपर्ने हुन्छ । किनकी बिचमा खुल्ला गर्ने बित्तिकै संक्रमण फेरि फैलिन्छ । अनि अहिले बनेको त्यो कोरोनाको भ्याक्सिन नेपालमा आइपुग्न कम्तिमा ६ महिना लाग्छ भन्ने अनुमान गरिएको छ । त्यो समयसम्म निषेधाज्ञा जारी राखेर बस्न पनि सम्भव नहोला ।

अतः लकडाउन नै समस्याको समाधान होइन । पहिला पनि चार चार महिनासम्म सम्पूर्ण नागरिकहरु यस्तै निषेधाज्ञामा बसेर कष्टकर रुपमा समय व्यतित गर्नुप¥र्यो । देश र नागरिकहरुले पनि ठूलो आर्थिक नोक्सानी व्यहोरिराख्नु परेको छ ।

बरु नाकाहरु सिल गरौं । अहिले जस्तै, जुन जुन क्षेत्रमा संक्रमण देखिन्छ त्यहाँ त्यहाँ सिल गरौं । वा अरु सतर्कताका उपायहरु अपनाऔं । तर, फेरि त्यही असफल नीतिलाई नअगाँलौं भन्ने मेरो आग्रह छ । त्यसैले अहिलेको अवस्थामा आ–आफ्नो काम व्यवसाय पनि गर्दै जाने संगसगै नेपालमा भ्याक्सिन वा औषधि नआइन्जेलसम्म सजगता र सचेतना अपनाउँदै संक्रमण हुनबाट आफू पनि जोगिने र अरुलाई पनि जोगाउँदै जानू नै सबैभन्दा उत्तम बिकल्प हो ।

You might also like

Comments are closed.